काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आज पालिकाभर शोक बिदा दिएको छ । दुर्घटनामा परेर नगरपालिकामा कार्यरत कर्मचारी तारा श्रेष्ठको निधन भएपछि आज पालिकाभर शोक बिदा दिएको हो ।
सोमबार सन्धिखर्कबाट प्युठान गइरहेको यात्रुवाहक बस सोमबार अर्घाखाँचीको उदयठाटीमा दुर्घटना हुँदा श्रेष्ठसहित २ जनाको मृत्यु भएको थियो। सोही नगरपालिका वडा नम्बर २ की ७० वर्षीया रूनी खनालको पनि घटनामा ज्यान गएको थियो। अरू ३४ जना घाइते भएका थिए।
सडकमा देउसीभैलो चलिरहेका बेला अनियन्त्रित बस ठूलो जनसमूहमाथि नै गुडेको थियो। घाइतेमध्ये १० जना उपचारका लागि बुटवल रेफर भएका छन्।
सो दुर्घटनामा ज्यानगुमाउने श्रेष्ठ नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार सहायक रहेको पालिकाले जनाएको छ । पालिकाले आज एक सूचना जारी गर्दै अकल्पनीय दुःखदायी घटनाले सिंगो भूमिकास्थान नगरपालिका परिवार दुःखी, मर्माहित एवं स्तब्ध भएको उल्लेख गरेको छ । ‘दुःखको यस घडीमा उक्त घटनामा परी मृत्यूवरण गर्नुहुने तारा श्रेष्ठ र रुनी खनालको द्विवङ्गत आत्माको बैकुण्ठ बासको कामना गर्दै शोक सन्तप्त परिवारजनहरुमा दुःख सहन गर्नसक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं’ पालिकाले भनेको छ।
नगरपालिकाले उक्त घटनामा परि घाईते हुने सम्पूर्णको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण परिवारजनहरुमा धैर्य धारण गर्नसमेत अनुरोध गरेको छ । पालिकाले मृतकप्रति शोक व्यक्त गर्दै भूमिकास्थान नगर कार्यपालिकाको कार्यालय, नगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र शिक्षण संस्था लगायत नगरपालिका भित्रका सम्पूर्ण कार्यालय तथा संघ संस्थाहरु आज बन्द रहने जनाएको छ ।