Logo

कीर्तिपुरको मेयरमा भिड्न तीन दलका उम्मेदवारको टुंगो, रवि प्रकरणले रास्वपा अलमलमा पर्दा कांग्रेस अझै छलफलमा



काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि दलहरुले आ-आफ्ना उम्मेदवार छानिरहेका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि देशभरका विभिन्न ३९ स्थानीय तह र वडामा चुनाव हुँदैछ । तिनै ३९ मध्येको एक स्थानीय तह कीर्तिपुर नगरपालिकामा पनि चुनावी चटारो बढ्दो छ ।

संघीय राजधानीसमेत रहेको काठमाडौंमा पर्ने कीर्तिपुरले दिने गरेको चुनावी नतिजाका कारण दलहरु अहिले कीर्तिपुर केन्द्रीत बनेका छन् । अहिले स्थानीय तहका ३९ पद रिक्त छन् । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३० वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।

उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।

कीर्तिपुरमा तीन दलको उम्मेदवार तय

आसन्न उपनिर्वाचनका लागि कीर्तिपुरको मेयरमा तीन दलले आफ्ना उम्मेदवार तय गरेका छन् । सत्तारुढ दल नेकपा एमालेले डा सुरेन्द्र मानन्धरलाई अघि सारेको छ । एमालेका केन्द्रीय कमिटी सदस्यसमेत रहेका डा मानन्धर वौद्धिक नेताको रुपमा परिचित छन् । लामो समयदेखि भूगोलको राजनीतिमा खटिँदै आएका उनी हालसम्म लाभको पदमा पुगेका छैनन् । ०४९ सालमा कीर्तिपुर नगरपालिका बनेयता सदैव आफ्नो कब्जामा राखेको कीर्तिपुरगत निर्वाचनमा भने एमालेले गुमाएको थियो । पार्टी विभाजन र उम्मेदवारको छनोटालाई लिएर विवाद हुँदा नजिता हातबाट फुत्किएको तर,यसपटक सर्वसम्मत उम्मेदवार चयन गरेको हुँदा जित हात पर्ने दाउमा एमाले रहेको छ ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार टुंगो लगाएको छ । माआवादीले प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

नगर कमिटीले सर्वसम्मत निर्णय गरेर महर्जनलनई उम्मेदवार बनाउन सिफारिस गरेको छ । उम्मेदवारमा सिफारिस महर्जन यसअघि जनताबाट एकपटक अस्वीकृत भइसकेका व्यक्ति हुन् । गत स्थानीय तह निर्वाचनमा पनि उनी मेयरका प्रत्यासी बनेका थिए । तर, तेस्रो भए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इन्जिनियर ध्रूब महर्जनलाई उम्मेदवार बनाउँदैछ । गत साता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं उपस्थित भएर महर्जनको उम्मेदवारी घोषणा गरिएको हो ।

कांग्रेस छलफलमै

गत निर्वाचनमा अप्रत्यासित नतिजा निकालेको नेपाली कांग्रेस भने अझैपनि छलफलमै रहेको छ । कांग्रेसको कीर्तिपुर नगर समितिले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ ।

नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ । त्यसपछि क्रमशः बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ ।

गठबन्धन नगर्ने र एक्लै चुनाव लड्ने निर्णय गरिसकेको कांग्रेसले केही दिनमै उम्मेदवार छनोट गर्ने जानकारी दिएको छ । गत निर्वाचनमा कांग्रेसबाट उम्मेलदवार बनेका राजकुमार नकर्मी ९ हजार ४३ मतका साथ मेयरमा निर्वाचित भएका छन् । तीन दशकपछि कीर्तिपुरमा एमालेको लालकिल्ला भत्काएका नकर्मीको मृगौला रोगका कारण केही महिनाअघि निधन भएको थियो । अहिले कीर्तिपुरमा कांग्रेसले उनै नकर्मी पत्नी जमुनालाई उम्मेदवार बनाउनेबारे छलफल गरिरहेको स्रोतको भनाइ छ ।

रवि प्रकरणले अलमलमा रास्वपा

पहिलो पटक स्थानीय चुनावमा भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी भने उम्मेदवारी दिने नदिनेबारे अहिलेसम्म निर्णयमा पुगिसकेको छैन् । पार्टी सभापति रवि लामिछाने सहकारी ठगकिो आरोपमा १८ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । स्थानीइ तहको उपनिर्वाचनमा भन्दा पनि रास्वपाले अहिले सम्पूर्ण ध्यान सभापति छुटाउनेतिर लगाएको छ । रास्वपाले आफ्नो उम्मेदवार नउठाएर अन्य उम्मेदवारलाई समर्थन गर्ने नीति लिनसक्ने आँकलन पनि गरिएको छ । त्यसो हुँदा रास्वपाले माओवादीका उम्मेदवारलाई समर्थन गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्