Logo

बिआरआईबारे कांग्रेसको बटमलाईनः उच्च ब्याजदर र शर्तसहित ऋणमा लिन नसकिने (भिडिओसहित)



काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.प्रकाशशरण महतले उच्च व्याजदर र शर्तसहित चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनीसीएटीभ (बिआरआई) लिन नसकिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले विश्व बैंक, एसियाली विकास बैंकलगायतबाट सहुलियतमा पाएको ऋणको समेत सदुपयोग हुन नसकिरहेको अवस्थामा चिनियाँ परियोजना बिआरआई ऋणमा लिन उपयुक्त नहुने बताएका हुन् ।

‘बिआरआईको सन्दर्भमा हामीले के भनेका छौं भने हामीलाई सहयोग लिन कुनै आपत्ति छैन । हामीले समझदारी पनि गरेको हो । तर, त्यो नेपालको हितमा हुनुपर्छ । अहिले हाम्रो ऋणको भार बढ्दै गएको अवस्थामा र कतिपय सहुलियतपूर्ण ऋण विश्व बैंक, एसियाली विकास बैंकलगायतबाट प्राप्त गर्ने सहुलियतपूर्ण ऋणलाई पनि हामीले पूर्णरुपमा सदुपयोग गर्न सकेको अवस्थामा उच्च व्याजदर र शर्तसहितको ऋण लिन चाहीँ उपयुक्त हुँदैन,’– उनले भने ।

निःशर्त रुपमा अनुदानमा बिआरआई स्वीकार गर्न सकिने उनको भनाइ छ । चीनसँग यसअघि अनुदानका सन्दर्भमा भएका प्रतिवद्धताहरु नै अहिलेसम्म कार्यान्वयनमा नआएको उनले बताए । चीनसहित जुनसुकै देशबाट पनि अहिले शर्तसहित र उच्च व्याजदरको ऋण लिने अवस्था नरहेको उनको भनाइ छ ।

‘अहिले हामी अनुदान नै जुन प्राप्त गर्दै आएका छौं, अनुदानका प्रतिवद्धताहरु नै कार्यान्वयनमा नआएको सन्दर्भमा अनुदानमात्रै लिने हिसाबले हामीले समझदारी गर्नुपर्छ । चीनबाट होस् या कुनै पनि देशबाट होस्, विभिन्न शर्तसहितको उच्च ब्याजको ऋण लिने सन्दर्भ हाम्रो लागि उपयुक्त छैन । हाम्रो लागि अहिले अनुदान नै हो,’– नेता महतले भने ।

बीआरआई चीनको महत्वकांक्षी परियोजना हो । यसले विश्वका ६० भन्दा धेरै देशहरुलाई सडक, रेल र बन्दरगाहबाट जोड्ने विश्वास लिइएको छ । सन् २०१३ सेप्टेम्बरतिर चिनियाँ राष्ट्रपति सी जिनपिङले बीआरआई योजनाको घोषणा गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा छिमेकी देश चीनको भ्रमण गर्दैछन् । उनी चीन गएको बेला बीआरआई परियोजनाबारे निर्णायक छलफल हुने धेरैको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्