Logo

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुने निश्चित



काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएपनि अन्त्यमा निर्वाचन भने ट्रम्पले जित्ने पक्का भएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म उपराष्ट्रपति ह्यारिसले क्यालिफोर्निया, न्यूयोर्कलगायत १४ वटा राज्यमा बहुमत ल्याउने सुनिश्चित हुँदा नेता ट्रम्पले टेक्सास, ओहायो, नर्थ क्यारोलाइना र अन्य भरपर्दो रिपब्लिकन झुकाव भएका राज्यसहित २३ राज्यमा जित हासिल गर्ने देखिएको छ ।

अहिलेसम्म ट्रम्पले २६७ र ह्यारिसले २३० इलेक्टोरल मत प्राप्त गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ब्याटलग्राउन्ड राज्यमध्ये सबैभन्दा महत्त्वपूर्ण पेन्सिलभेनिया राज्यमा ट्रम्पले जितेसँगै उनको दोस्रो पटक ह्वाइट हाउन छिर्ने सपना साकार हुने करिब टुंगो लागेको छ । राष्ट्रपति पदमा जीतको लागि इलेक्टोरल सङ्ख्या २७० रहेको छ।

यो ट्रम्पको तेस्रो राष्ट्रपतीय चुनाव हो । यसअघि उनका आलोचकहरूले उनको अभियानलाई कमजोर ठानेका थिए । उनलाई विशेषगरी महिला मतदातालाई आकर्षित गर्न असफल भएको आरोप लागेको थियो ।

गर्भपतनसम्बन्धी मुद्दामा उनको धारणा महिला मतदाताका लागि पर्याप्त नहुने विश्लेषण गरिएको थियो । त्यस्तै, कतिपय विश्लेषकहरूले उनको संगठनात्मक आधार र चुनावी रणनीति कमजोर रहेको पनि बताइरहेका थिए ।

तर, यी सबै विश्लेषण र आलोचना सन्देहपूर्ण सावित भएका छन् । पेन्सिल्भेनियाको यो महत्वपूर्ण जितले ट्रम्पलाई अत्यन्त बलियो स्थितिमा पुर्‍याएको छ र पुनः उनी राष्ट्रपत बन्ने प्रष्ट भएको छ ।



प्रतिक्रिया दिनुहोस्