काठमाडौं, २१ कार्तिक । पछिल्लो समय रगतको चरम अभाव भएको छ । दुर्घटनापछिको उपचार, अप्रेसनलगायतका आपतकालीन अवस्थाका लागि अत्यावश्यक मानिने रगत अभाव हुँदा विरामीहरु मारमा परेका छन् । काठमाडौं शिक्षण अस्पताल (केएमसी) सिनामंगलमा उपचाररत एक विरामीका आफन्तले आफूले ब्लड खोज्दा धेरै दुःख पाएको बताए । ‘मलाई अस्पतालले दुई पाउन्ड ब्लड व्यवस्थापन गर्न भनेको थियो । थाहा भएको ठाउँ सबैमा सोधेँ । कही कतै छ भन्ने जवाफ आए । पछि बानेश्वरको एभरेष्ट अस्पताल र तीनकुनेको कान्तिपुर अस्पतालबाट बल्लबल्ल एक/एक पाउन्ड रगत जम्मा गरिदिएँ,’– उनले सुनाए ।
त्यस्तै, उनले रक्तदाताले निः शुल्क दान गरेको रगतमा पनि चर्को मूल्य लिइएको गुनासो पोखे । हामीलाई उनले कान्तिपुर हस्पतालमा एक पाण्ड रगतको एक हजार रुपैयाँ तिरेको बिल देखाए । उनले एक पाउन्ड रगतको लागि एभरेष्ट हस्पिटलमा भने ९ सय ५० रुपैयाँ तिरेका थिए । त्यस्तै, नेपाल रेडक्रसले एक पाउन्ड रगत ७५० मा उपलब्ध गराइरहेको पाइयो । यसरी रक्तदाताहरुले निःशुल्क रुपमा उपलब्ध गराएको रगतमा अस्पताल र ब्लड बैंकअनुसार मनपरी शुल्क लिने गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटीको सूचना अधिकारी विपुल न्यौपाने दसैं, तिहार, छटलगायतका चाडपर्वका कारण कम ब्लड संकलन भएको बताउँछन् । उनका अनुसार केही अभावजस्तो देखिए पनि रेडक्रसले व्यवस्थापनको प्रयास गरिरहेको छ । ‘चाडबाडको बेला भएर ब्लड अहिले अलिकति अभाव नै छ । तर, व्यवस्थापन भने भइरहेको,’– उनले भने ।
रेडक्रस केन्द्रीय रक्त सञ्चार सेवाका उपनिर्देशक डा. प्रकाशकुमार यादवले अहिले रगत अभाव नै रहेको बताए । ‘प्रोगामहरु निरन्तर रुपमा भइरहेको छ । तर, समस्या के छ भने रक्तदाता नै छैनन् । प्रोगाम भएपनि ब्लड संकलन भइरहेको छैन । यो परिस्थितिलाई अप्ठ्यारो नै भन्नुपर्यो । आह्वानकै हिसाबले जानुपर्यो । हामीले दसैं तिहारको बीचमा आह्वान पनि गरेकै थियौं । सहज चाहीँ त्यति देखिँदैन । हाम्रोमा मान्छे फर्किरहेको अवस्था चाहीँ छैन, जसोतसो व्यवस्था भइरहेको छ । तर, सहजता चाहीँ छैन,’– उनले भने ।
डा. यादवका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रक्तदाताले दान गरेको रगत परीक्षण गरेको ७४० देखि १६१० सम्म शुल्क निर्धारण गरेको छ । यो रेट प्रविधिअनुसार निर्धारण गरिएको हो । डा. यादवका अनुसार रेडक्रसले क्लिया चलाउँदा एक पाउन्ड रगतको एक हजार एक सय लिएको थियो । हाल अहिले क्लियाबाट गरिने परीक्षण बन्द छ । अहिले रेडक्रसले र्यापिड टेस्ट गरिरहेको छ । र्यापिड टेस्टको शुल्क सात सय ५० रहेको छ ।
‘हामीले पहिला क्लिया चलाउँदा एक हजार एक सय लिइराखेका थियौं । अहिले क्लिया नचलाउँदा हामीले साढे ७ सय लिइरहेका छौं । यो हाम्रो कुरा भयो । बाहिर कुरा के छ भने पूरानो प्रविधि प्रयोग गरेर नयाँको पैसा लिएको छ भने यो सर्भेकै विषय भयो । त्यसको लागि सुपरिभिजन गर्ने निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु हो । हामीलाई डर कहाँ छ भने ७ सय ४० देखि १ हजार ६ सय १० सम्म लिने प्रावधान चाहीँ छ । तर, काम चाहीँ ७ सय ४० को गर्ने पैसा चाहीँ १६१० सम्मको लिइरहेको छ कि ? त्यो सुपरिभिजन गर्ने दायित्व नेपाल सरकारअन्तर्गत पर्छ,’– उनले भने ।
डा. यादवका अनुसार रक्तदाताले दान गरेको रगतमा सेरोलोजीअन्तर्गत एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, सिफिलिस (भिरिङ्गी) रोगको परीक्षण गरिन्छ । क्रसम्याच र बल्ड ग्रपिङसहित ६ प्रकारका परीक्षण गरिन्छ । उक्त परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई वटा विधि अपनाएको छ । जसअन्तर्गत र्यापिड टेस्ट र क्लिया टेस्ट । डा. यादवका अनुसार गुणस्तरको हिसाबले र्यापिड टेस्ट र क्लिया टेस्ट दुवै प्रभावकारी नै छन् । तर, कुनै संक्रमण रहेको नरहेको कुरा र्यापिडभन्दा क्लिया टेस्टमा छिटो थाहा हुन्छ । एचआईभी, हेपाटाइटिसलगायतका सरुवा रोगको परीक्षण र्यापिड टेस्टबाट संक्रमण भएको ६ हप्तापछि मात्रै थाहा हुन्छ भने क्लिया टेस्टबाट संक्रमण भएको १० दिनमै पत्ता लाग्छ । र्यापिड टेस्टको तुलनामा क्लिया टेस्ट आधुनिक प्रविधि हो ।
‘यो दुवै टेस्ट विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट रिकोमेन्डेड नै हो । र्यापिडबाट टेस्ट गर्नेले ७५० लिन्छ, क्लियाबाट गर्नेले ११, साढे ११ सय लिन्छ । क्लिया प्लस अरु टेक्नोलोजीहरु छन् । नयाँ टेक्नोलोजी आउनेबित्तिकै पुरानो खराब हुन्छ भन्ने होईन । फरक के हुन्छ भने पहिला कसैलाई एचआईभी, हेपाटाइटिस लागेको छ भने ६ हप्तामा छुट्याउन्थ्यौं भने नयाँ प्रविधिबाट एक हप्ता १० दिनमै छुट्याउन सकिन्छ । यो टाइमको कुरा हो,’– डा. यादवले भने ।
नेपालको सन्दर्भमा तीन/चार वटा अस्पतालबाहेक सबै ठाउँमा र्यापिड टेस्ट नै हुने गरेको डा. यादव बताउँछन् । ७ सयको टेस्ट गर्ने ११ सय लिने काम भइरहेको भए त्यसलाई सरकारले नियमन गर्नुपर्ने उनको भनाइ छ ।
‘सही तरिकाले टेस्ट भइरहेको छ र सही रेट लिइरहेको छ भने आपत्ति केही पनि छैन । ७ सयको टेस्ट गर्ने ११ सय लिने काम भइरहेको छ भने यसको सुपरिभिजन र मनिटरिङ नेपाल सरकारको कुरा हो । हामी गर्दैनौं । नेपालको एकाध ठाउँबाहेक सबै ठाउँमा र्यापिड टेस्ट नै हुन्छ । क्लिया हामी कहाँ छ, अहिले सेवा स्टप छ । अनि लायन्स, ग्राण्डीमा हुनसक्छ । यो तीन चार वटा सेन्टर हो भने महँगो लिएको औचित्य होला । अरु ठाउँमा चाहीँ त्यति महँगो लिइराखेको छ भने त्यो औचित्यहीन हो,’– उनले भने ।