काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेसले ९ स्थानमा उम्मेदवारको तय गरेको छ । कांग्रेसले आजसम्म दोलखाको गौरिशंकर गाउँपालिकासहित ९ ठाउँको उम्मेदवार तय गरेको हो ।
आगामी मंसिर १६ गते स्थानीय तहका विभिन्न ४४ पदमा उपनिर्वाचन हुँदैछ । गौरिशंकर गाउँपालिकाका तत्कालीन अध्यक्ष श्यामसुन्दर तामाङको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । कांग्रेसले जिल्ला कार्यसमितिले गौरिशंकरको उपाध्यक्षमा पासाडिकी शेर्पालाई टिकट दिने निर्णय गरेको छ ।
जिल्ला कार्यसमितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेर केन्द्रमा पठाएको हो । तत्कालीन गाउँपालिका उपाध्यक्ष रहेका श्यामसुन्दर तामाङको २०८० साल असारमा निधन भएको थियो । सोही कारण त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो । उपनिर्वाचनमा टिकट पाएकी शेर्पा स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती हुन् ।
त्यस्तैकांग्रेसले झापाको कन्काई नगरपालिका ६ को वडाध्यक्षमा रामगोपाल ओली, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा प्रकाशबहादुर चन्द, गुल्मीको मुसिकोट नगरपालिका १ मा आनन्द श्रेष्ठलाई उम्मेदवार उठाउने निर्णय गरेको छ ।
त्यस्तै, सुनसरीको गढी गाउँपालिका ६ बाट तेतर साह, कालिकोटको तिला गुफा नगरपालिका ४ बाट अविराज शाही, तेह्रथुम, लालीगुराँस नगरपालिका ८ बाट नगेन्द्र लिम्बू सर्वसम्मत भएका हुन् ।
कैलालीको जिल्ला समन्वय समितिमा कांग्रेसले केशवराज पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी निर्वाचित हुने निश्चितजस्तै छ ।
हाल देशभर जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३० वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।
उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।