Logo

सत्ता गठबन्धनमा खटपटको संकेत, ओली-देउवाले बनाए ८ सदस्यीय संयन्त्र



काठमाडौं, २१ कार्तिक । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय संयन्त्र बनाएको छ । संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।

त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल संयन्त्रमा रहेका छन् । एमाले–कांग्रेसले सरकारलाई सफल बनाउन केन्द्रमा मात्रै नभएर प्रदेश र जिल्ला तहमा समेत संयन्त्र बनाउने बताइएको छ ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्न र सफल बनाउनका लागि संयन्त्र बनाएको बताइएको छ । ओली नेतृत्वको वर्तमान सरकार गठन भएको तीन महिनाभन्दा लामो समय भइसक्दा संयन्त्र बन्नुले कांग्रेस–एमालेबीच खटपटको संकेत गरेको छ ।

प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणलाई लिएर पनि सत्ता गठबन्धनमा खटपट सुरु हुन लागेको बताएको छ । कांग्रेस चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनीसीएटीभ (बिआरआई) ऋणमा लिन नहुने अडानमा छ । तर, प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा बीआरआईबारे महत्वपूर्ण समझदारी गर्ने बुझिएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्