Logo

सहकारी ठगी प्रकरणमा सरकारले धनराज र ऋषिकेशलाई बचाउँदैनः मन्त्री यादव (भिडिओसहित)



काठमाडौं, २२ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले सहकारी ठगी प्रकरणमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले सहकारी ठगीमा संलग्न कांग्रेस–एमालेलगायत कुनै दलका नेताहरुलाई पनि नबचाउने बताएका हुन् । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेको प्रसंग उल्लेख गर्दै उनले सरकार सबै सहकारी ठगहरुलाई कानुनको दायरामा ल्याएर पीडितहरुको बचत फिर्ता गराउने बाटोतर्फ अगाडि बढिसकेको बताए ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेलतर्फ लक्षित गर्दै उनले भने, ‘कांग्रेस–एमालेको नेताहरु पनि भित्र जान्छन् । जो–जो संलग्न छन्, कोही छुट्दैनन् । सत्तासिन नेताहरुहरुलाई बचाउने भए ढोरपाटनको मेयर जेलमा हुन्थ्यो ? त्यो सत्ताधारी पार्टीको मेयर होईन ? हावादारी कुराहरु स्टन्टबाजहरुले गरिरहेको छ । यो जनताको आँखामा छारो हाल्ने र सहकारी ठगहरुलाई प्रोत्साहन गरिरहेको छ । सरकारले छाड्दैन, सहकारी ठगहरुलाई भित्र हाल्ने अनि जनताको पैसा फिर्ता गराउने काम सरकारको हो । त्यो काम सरकारले अगाडि बढाइसकेको छ । नत्र केपी ओलीको सरकारभन्दा अगाडि किन सहकारी ठग समातिएन ।’

साथै, कांग्रेस–एमालेसहितको गठबन्धन सरकार आगामि ०८४ को निर्वाचनसम्मै कायम रहने उनको दाबी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सडकबाट सरकार ढाल्ने चेतावनी दिएको प्रसंगमा केन्द्रीत हुँदै उनले सरकारलाई त्यसले कुनै फरक नपर्ने बताए । अहिलेसम्म सहकारी ठगीमा ६ सयभन्दा बढी व्यक्ति पक्राउ परिसकेको स्मरण गराउँदै मन्त्री यादवले रास्वपाका सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि पनि थुनामै राखेर अनुसन्धान हुने बताए । उनले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाहिर राख्दा अनुसन्धान प्रभावित हुने बताए । उनले ‘लामिछानेलाई बाहिर राखेर अनुसन्धान गर्नुपर्ने महापुरुष हो र ?’ भन्दै प्रतिप्रश्न गरे ।

‘कुनै पनि हालतमा सरकार ढल्दैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार ढाल्ने घोषणा गरेर केही हुनेवाला छैन । अहिले राज्यले देशभरी जो सहकारी ठग छन्, तिनीहरुलाई भित्र (जेल) हालिरहेको छ । ६ सयभन्दा माथि सहकारी ठगहरु भित्र गइसक्यो । ६ सयमा एक जना व्यक्ति थपियो भने के बिग्रियो ? आखिर सहकारी ठगीको प्रकरणमा त गएको छ । अदालतले निर्णय गर्छ ।’ उनले भने, ‘सहकारी ठगी प्रकरण वा जुनसुकै ठगी प्रकरणमा जुनसुकै व्यक्ति किन नहोस् । त्यसको संलग्नता छ भने भित्रै राखेर अनुसन्धान गर्नुपर्छ । बाहिर राखियो भने अनुसन्धान प्रभावित हुन्छ । सरकारले सहकारी ठगलाई भित्र हालिरहेको छ, रवि लामिछानेलाई चाहीँ किन छुटाउँछ ? अहिले देशभरीका सहकारी ठग ६ सयभन्दा माथि भित्र गइसक्यो । अनि एक जना मान्छे महापुरुष हो ?’



प्रतिक्रिया दिनुहोस्