Logo

ट्रम्पलाई बधाई तथा शुभकामना दिन पनि प्रधानमन्त्री ओलीले चीनको मुख ताकेको अर्थविद् न्यौपानेको आरोप (भिडिओसहित)



काठमाडौं, २२ कार्तिक । अर्थविद् एवं राजनीतिक विश्लेषक डा. गोपिलाल न्यौपानेले नेपालको गरिबी सरकारले लगाएको करसँग सम्बन्धित रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले आय कर हटाउने उद्घोष गरेको प्रभावस्वरुप जीत सुनिश्चित भएको बताएका हुन् । उनले नेपालमा कर अत्याधिक रहेको तर्फ लक्षित गर्दै भने, ‘नेपालको गरिबी सरकारले लगाएको करसँग सम्बन्धित छ ।’

ट्रम्पले आय कर हटाउने, हाउजिङ कर घटाउनेलगायतका उद्घोष गरेको उनले बताए । अर्थविद् न्यौपानेले ट्रम्पको जीतलाई ‘विद्रोहको जीत’ को संज्ञा दिए । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रम्पलाई जितको बधाई तथा शुभकामना दिनसमेत चीनको इसारा कुरेको उनको टिप्पणी छ । प्रधानमन्त्री ओलीले चीनको इसाराबिना ‘हामी ट्रम्प प्रशासनसँग काम गर्न चाहन्छौं’ समेत भन्न नसकेको उनले बताए ।

‘भारतले शुभकामना दिइसकेको छ । युरोपका सबै देशहरुले उनलाई शुभकामना दिइसकेका छन् । रूसले पनि शुभकामना दिइसकेको छ, म काम गर्न चाहँछु भनेको छ । जापानले शुभकामना दिएको छ । नेपाल सरकार कता सुतेको छ ? म डोनाल्ड ट्रम्पको प्रशासनसँग काम गर्न चाहन्छु भनेर प्रधानमन्त्री केपी ओलीजीले भने भयो नि त । यो ढिला भइसक्यो । शुभकामना त दिन सकियो नि त । चीनले के भन्छ भनेर हामीले चीनको मुख ताक्नै पर्दैन नि । उसले त काउन्टर गर्छ । उसले त अमेरिकालाई काउन्टर गर्ने देश हो नि । हामी कसैलाई पनि काउन्टर गर्न सक्दैनौं चीन, भारत र अमेरिका पनि हाम्रो मित्र राष्ट्र हो,’– उनले भने ।

उनले युक्रेनलाई फन्डिङ नगर्ने उद्घोषसमेत गरेको स्मरण गराउँदै अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजयसँगै अब रूस र युक्रेनबीचको युद्ध रोकिने दाबी गरे । ‘उनले युद्ध रोक्न सक्छन् । अमेरिकी जनताको करलाई वार फन्डिङको रुपमा बाइडेन प्रशासनले दियो । थुप्रै मान्छे मारिएका छन् । विश्वनै युद्धमा विभाजन भइरहेको छ । उनले म यो रोक्छु भनेका छन् । यो एउटा सकारात्मक पक्ष हो । त्यसो हुँदा नेपालमा खाद्यन्न पनि सस्तो हुन्छ । युक्रेन शान्तिमा गयो भने त्यो उत्पादन गर्ने देश हो,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्