काठमाडौं, २२ कार्तिक । परराष्ट्रविद् डा. शम्भुराम सिम्खडाले डोनाल्ड ट्रम्पले रूस–युक्रेन र मध्यपूर्वमा भइरहेको युद्ध रोक्न सफल भएमा नोबेल शान्ति पुरस्कार दिनुपर्ने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ट्रम्पले आफूले निर्वाचन जितेको एक महिनाभित्र रूस र मध्यपूर्वमा भएरहेको नरसंहार रोक्ने घोषणा गरेको बताए । परराष्ट्रविद् सिम्खडाले ट्रम्पको अन्य आगामी नीतिहरु के हुने भन्ने कुरा भन्न गाह्रो रहेको बताए ।
‘उहाँका केही नीतिहरुले संकेत दिइसकेका छन् । केही नीतिहरु भने अहिले भन्न गाह्रो छ, विश्लेषणको विषय छ । उहाँले आफ्नो चुनावको क्याम्पियनका क्रममा मैले जितेको एक महिनाभित्र युक्रेन वार बन्द गर्छु भन्नुभएको छ । उहाँले युक्रेन वार र गाजामा अथवा मध्यपूर्वमा भइरहेको नरसंहारलाई अन्त्य गर्नुभयो भने ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ,’– उनले भने ।
साथै, उनले अमेरिकामा परिवर्तनको पक्षमा भोट गएको दाबी गरे । अमेरिकामा ट्रम्पको पुनरागमन अत्यन्त शक्तिशाली राष्ट्रपतिको रुपमा भएको परराष्ट्रविद् सिम्खडाले दाबी गरे । ‘उनी अत्यन्तै शक्तिशाली राष्ट्रपतिको रुपमा देखापरेका छन् । उनको यो परिवर्तनको पक्षमा भोट गएको छ । उनको केही एजेण्डाहरु प्रष्ट छन्,’– उनले भने ।