काठमाडौं, २२ कार्तिक । कौशिक गोत्रीय खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज (केबीएस) केन्द्रीय कार्यसमितिले २५औं वार्षिक साधारण सभा एवं रजत जयन्ती झापामा मनाउने भएको छ । केबीएस केन्द्रीय कार्यसमितिले आगामी कार्तिक २४ गते आफ्नो रजत जयन्ती बिर्तामोड नगरपालिका–९ स्थित केबीएसको सामुदायिक भवनमा मनाउन लागेको हो । रजत जयन्तीमा देशभर छरिएर रहेका बुढाथोकीहरुको सहभागिता रहने प्रथम केन्द्रीय उपाध्यक्ष डम्बर बहादुर बुढाथोकीले बताए ।
‘हाम्रो संस्थाको २५औं वार्षिक साधारण सभा एवं रजत जयन्ती झापाको बिर्तामोड नगरपालिका–९ स्थित नडियाबारीमा रहेको सामुदायिक भवन एवं कूलमण्डपमा भव्यताका साथ मनाउँदै छौं । रजत जयन्तीमा देशभरबाट ६ सयभन्दा बढी बन्धुहरु आउनुहुनेछ,’– उपाध्यक्ष बुढाथोकीले भने ।
खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज (केबीएस) २०५६ सालमा बिकेन्द्र कुमार दीप बि.सी.ले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका थिए । हाल केबीएसको ५० भन्दा बढी जिल्लामा जिल्ला कार्यसमिति रहेको छ । संसारभर छरिएर रहेका कौशिक गोत्रीय खप्तडी बुढाथोकी क्षेत्रीको खोजी गरी देशको सामाजिक सांस्कृतिक विकासमा टेवा पुर्याउने संस्थाको लक्ष्य रहेको प्रथम केन्द्रीय उपाध्यक्ष बुढाथोकीले बताए ।
‘संसारभर छरिएर रहेका कौशिक गोत्रीय बुढाथोकी बन्धुहरुको एकता, वंशको खोज, वंशावली निर्माण र सामाजिक सांस्कृतिक विकासमा देशलाई टेवा पुर्याउनु हाम्रो संस्थाको प्रमुख लक्ष्य रहेको छ,’– उपाध्यक्ष बुढाथोकीले भने ।