Logo

मानव तस्करीमा मुछिएका कोशीका निवर्तमान कानुनमन्त्रीलाई कारबाहीको दायरामा ल्याउन कांग्रेस नेता खतिवडाको माग (भिडिओसहित)



काठमाडौं, २३ कार्तिक । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीमाथि छानविनको माग गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारीमाथि छानविनको लागि गृहमन्त्री रमेश लेखकको ध्यानाकार्षण गराएका हुन् ।

नेकपा (एमाले) कोशी प्रदेशका प्रदेश सभा सदस्य अधिकारी मानव तस्करीमा मुछिएसँगै मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । अधिकारीले मन्त्री पदबाट राजीनामा दिँदैमा उनलाई यो मुद्दाबाट उन्मुक्ति दिन नहुने नेता खतिवडाको माग छ । नेता खतिवडाले कोशीका निवर्तमान मन्त्री अधिकारीले पनि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरको पथ प्रदर्शन गरेको टिप्पणी गरे ।

‘हिजो हाम्रो उपसभामुखले जे गर्नुभएको थियो, अहिले प्रदेशका मन्त्रीहरुले त्यही गर्न थाले । यो एकदमै गलत हो । यो र उपसभामु्खको केही फरक छैन । अधिकारी पनि उपसभामुखकै पथ प्रदर्शक हुनुहुँदोरहेछ । उहाँले पनि त्यसैगरी आफैंले गर्नुभएछ । १० देखि १३ लाखसम्म पैसा संकलन गरेको भन्ने समाचारहरु आउने थालेका छन् । यसमा म नेपाल सरकारको गृहमन्त्रीज्यू पनि अत्यन्त बुझेको हुनुहुन्छ । उहाँले प्रदेशको मन्त्रीबाट राजीनामा दिएर सुख हुँदैन । यो पूर्ण छानविन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ,’– नेता खतिवडाले भने ।

जापानको कार्यक्रममा जाने क्रममा ६ जना युवालाई सँगै लगेको घटना बाहिरिएपछि अधिकारीले गत बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । सरकारले राजधानीबाहिर मन्त्रीहरु जाँदा पनि मुख्यमन्त्रीको अनुमति लिनुपर्नेगरि आचारसंहिता बनाएको छ। विदेश भ्रमणमा जाँदा त प्रदेश मन्त्रिपरिषद्को निर्णयसहितको सिफारिसको आधारमा संघीय सरकारले सहमति दिनुपर्ने प्राबधान छ। त्यसविपरित कुटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा गएको र मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न भएको समाचार बाहिरिएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनीसँगै जापान पुगेका ६ जना हाल प्रहरीको हिरासतमा छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्