काठमाडौं, २३ कार्तिक । कोशी प्रदेशमा निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त घटना थाहा पाएपछि प्रहरीलाई आफैंले सूचना दिएको बताए । सो घटनामा छानविनले दोषी ठहर्याए आफू जेल जान तयार रहेको पनि उनले बताए । ‘दोषी ठहर भए जेल जानुपर्छ मैले । म जान्न भनेर धर पाउँछु र ?’ उनले भने ।
जापानको कार्यक्रममा जाने क्रममा ६ जना युवालाई सँगै लगेको घटना बाहिरिएपछि अधिकारीले गत बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । सरकारले राजधानीबाहिर मन्त्रीहरु जाँदा पनि मुख्यमन्त्रीको अनुमति लिनुपर्नेगरि आचारसंहिता बनाएको छ। विदेश भ्रमणमा जाँदा त प्रदेश मन्त्रिपरिषद्को निर्णयसहितको सिफारिसको आधारमा संघीय सरकारले सहमति दिनुपर्ने प्राबधान छ। त्यसविपरित कुटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा गएको र मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न भएको समाचार बाहिरिएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनीसँगै जापान पुगेका ६ जना हाल प्रहरीको हिरासतमा छन् ।
निर्वतमान मन्त्री अधिकारीले आफूले घटनाको छानविनमा सहयोग पुर्याउन पदबाट राजीनामा दिएको बताए । उनले आफूले मानव तस्करी गर्नै चाहेमा नुवाकोट, धादिङ, रसुवातिरका मान्छे खोज्न नपर्ने बताए । आफूलाई निर्वाचन क्षेत्रका जनताले त्यतिधेरै विश्वास गर्ने बताउँदै उनले आफूले चाहेको खण्डमा लाइन लगाएर मान्छे बेच्दिन सक्ने बताए । ‘लिलाभल्लब अधिकारीले चाह्यो भने लाइन लगाएर धेरै मान्छे बेच्दिन सक्छ । मलाई मेरो क्षेत्रमा त्यतिधेरै विश्वास गर्छन् । म दुई दुई चोटी दोहोर्याएर जितेको सांसद हुँ,’– उनले भने ।
साथै, आफू मानव तस्करको विरुद्धमा वकालत गर्ने मान्छे रहेको पनि उनले बताए । आफूलाई नै मानव तस्करको नाइके बनाउन खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘मानव तस्करहरुको विरुद्धमा वकालत गर्ने मान्छे हुँ म । मानव तस्करको विरुद्धमा उभिने मान्छे हुँ म । जो मान्छे मानव तस्करको विरुद्धमा छ, जो मान्छेले मानव तस्कारको सूचना दियो, जसले अनुसन्धानको दायरामा ल्यायो, उसलाई तस्कर बनाइदिने ?’ आक्रोश व्यक्त गर्दैै उनले भने ।