Logo

ललिता निवास जग्गा प्रकरणको फैसलामा अधिवक्ता नेपालको टिप्पणीः ‘नेताहरुले भ्रष्टाचार गरेरै खाने हो, यिनलाई मुद्दा चलाउँदा पाप लाग्छ भनियो’



काठमाडौं, २३ कार्तिक । अधिवक्ता भद्रप्रसाद नेपालले ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालले संसदीय व्यवस्थामा नेताहरुको काम भ्रष्टाचार गरेर खाने हो, यिनलाई मुद्दा नचलाउनु भनेर फैसला गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित लेखक दीपकराज शर्माको ‘नेताहरुबाट सावधान !’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कतिपय मुद्दामा अदालत भत्काएर शौचालय बनाउन पर्ने अवस्था बनेको टिप्पणी गर्दै उनले भने, ‘बालुवाटारको जग्गामा नीतिगत निर्णय गरेर बेचिखाने भन्ने, व्यक्तिका नाममा लाने भन्ने मुद्दा पाँच जना न्यायाधीशले फैसला गरेका हुन् । अख्तियारले मुद्दा चलाउँदा सर्वोच्चका न्यायाधीश बलराम केसी, राजेन्द्रकुमार कोईराला, प्रधानन्यायाधीश भइसकेका खिलराज रेग्मी, मिनबहादुर रायमाझी र अनुपराज शर्मा । उहाँहरुले व्यक्तिको नाममा लानु, मोही कायम गर्नु, व्यक्तिको नाममा लानैपर्छ । सरकारको नाममा राख्न पाइँदैन भनेर फैसला गरेको छ । मन्त्रीको पेशा त संसदीय व्यवस्थामा भ्रष्टाचार गरेरै खाने हो । यिनलाई मुद्दा नचलाउनु, त्यसो गर्यो भने पाप लाग्छ, त्यो गैरकानुनी हुन्छ । कर्मचारीलाई मात्रै मुद्दा चलाउनु भनेर फैसला गर्यो त ।’



प्रतिक्रिया दिनुहोस्