Logo

रहस्यमयी बन्दै लिलाबल्लभको जापान भ्रमणः पार्टी, सरकार कसैलाई पनि थिएन जानकारी



काठमाडौं, २४ कार्तिक । मानव तस्करीमा जोडिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत जानकारी नगराई जापान गएको खुलेको छ ।

जापानको कार्यक्रममा जाने क्रममा ३ जना युवालाई सँगै लगेको घटना बाहिरिएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनीसँगै जापान पुगेका ३ जना युवासहत ६ जना भने हाल प्रहरीको हिरासतमा छन् । उनीहरुले १० लाखदेखि १३ लाखसम्म बुझाएर आफूहरु जापान गएको प्रहरीलाई बयानका क्रममा बताएका छन् ।

एमाले केन्द्रीय अनुशासन आयोगको अध्यक्ष केशब बडालले मुख्यमन्त्री कार्कीलाई कुनै जानकारी नगराइ उनी जापान गएको खुलेको बताए । अनुशासन आयोगको अध्यक्ष बडालका अनुसार घटना बाहिरिएपछि मुख्यमन्त्री कार्कीले निर्वतमान मन्त्री अधिकारीलाई तपाई मोरङबाट झापा गएको हो ? भन्दै झपारेका थिए ।

मुख्यमन्त्री कार्कीको भनाई उदृत गर्दै बडालले भने, ‘मुख्यमन्त्रीले तत्काल तपाईँ राजीनामा गर्नुुस्, तपाईले विना सूचना, हामीलाई कुनै जानकारीविना देश छोडेर बाहिर जानुभयो । झापा गएको हो ? उहाँले भनेकै शब्द यही छ । तपाई मोरङबाट झापा गएको हो ? भनेर उहाँले सोध्नुभएको छ ।’

प्रदेश सरकारका तत्कालीन मन्त्रीसमेत रहेका अधिकारीले पार्टी, सरकार कसैलाई पनि जानकारी नगराउनुले उनको जापान भ्रमण झनै रहस्यमयी बनेको छ ।



प्रतिक्रिया दिनुहोस्