काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाली टिमकी कप्तान पूजा महतोले अर्धशतक प्रहार गरेकी छन् ।
टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान महतोले केवल २८ बलको सामना गर्दै ५० रनको आँकडा पार गरेकी हुन् । अर्धशतक हिर्काउन उनले ५ चौका प्रहार गरिन् । ताजा अवस्थामा नेपाली टिमले १० ओभरमा २ विकेट गुमाएर १०२ रन जोडेको छ । नेपालका लागि कप्तान महतालेले ५७ तथा सोनि पाख्रिनले १३ रन बनाएर खेलिरहेका छन् ।
युएईमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा चार खेल खेलिसकेको नेपालले तीन जित र एक हारको सामना गरेको छ। यसअघि नेपालले पहिलो भेटमा कुवेतलाई १०८ रनले हराएको थियो ।
पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको हो। शनिबार भएको तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि १०६ रनको जित निकालेको थियो । नेपालले प्रतियोगिताको अन्तिम खेल भोली यूएईसँग खेल्नेछ ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ। यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा हुँदैछ।