Logo

नेपालले दियो कुवेतलाई २१४ रनको विशाल लक्ष्य, कप्तान पूजाको सनसनीपूर्ण ब्याटिङ



काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपाली टिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रन जोड्यो । नेपाली टिमका लागि कप्तान पूजा महतोले शानदार प्रदर्शन गरिन् । करियरकै पहिलो शतक हिर्काएकी पूजाले ६९ बलमा १३० रनको विशाल स्कोर जोडिन् । त्यसक्रममा उनले १७ चौका हिर्काएकी थिईन् । त्यस्तै उपकप्तान सोनि पाख्रिनले ४३ रन थपिन् । दोस्रो विकेटका लागि सोनि र पूजा मिलेर ८४ बलमा १५७ रनको साझेदारी गरेका थिए ।

सावित्रि धामीले ११ र  सान प्रविनले ६ रन बनाए । कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक/एक विकेट लिए ।

प्रतियोगितामा चारमध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । कुवेत भने लगातार चार हार व्यहोर्दै अंकविहीन छ ।



प्रतिक्रिया दिनुहोस्