काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप छनोट अन्तर्गतको खेलमा कुवेतविरुद्ध नेपाली महिला टिमकी कप्तान पूजा महताले शानदार शतक प्रहार गरेकी छन् ।
यूएईमा जारी छनोट अन्तर्गत आज भएको खेलमा उनले कुवेतविरुद्ध विष्फोटक ब्याटिङ गर्दै करिअरकै पहिलो शतक हिर्काएकी हुन् । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतविरुद्ध २१३ रनको विशाल स्कोर खडा गरेको छ । त्यसक्रममा कप्तान पूजाले शतक हिर्काएकी हुन् । ५७ बलमा १२ चौकासहित १०० रनको आँकडा पूजाले पूरा गरेकी थिईन् ।
समग्रमा नेपालकी कप्तान पुजा महतोले १३० र सोनी पाख्रिन ४३ रनको अविजित इनिङ खेले । पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाउँदा सोनी ३३ बलमा दुई चौका मद्दतमा ४३ रनमा अविजित रहिन् । उनीहरूले तेस्रो विकेटका लागि ८४ बलमा १५७ रनको साझेदारी गरेका थिए ।
अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक हान्ने पूजा दोस्रो नेपाली खेलाडी बनेकी छन् । यसअघि नेपालको सिनियर टिमकी पूर्व कप्तान रुविना क्षेत्रीले शतक हिर्काएकी थिईन् । एसिसी वुमन्स प्रिमियर कप २०२४ मा रुविनाले माल्दिभ्सविरुद्ध शतक हिर्काएकी थिईन् । ११८ रन जोड्दै रुविनाले कीर्तिमान कायम गरेकी थिईन् । जून कीीर्तमान आज पूजाले तोडेकी छन् ।