Logo

माओवादी नेता बिडारीको आरोपः सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले पैसा खाएर गर्नुपर्ने काम गर्यो



काठमाडौं, २७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पैसा खाएर गर्नुपर्ने काम गरेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसदीय छानविन समितिले राजनीतिक मोलमोलाइको आधारमा प्रतिवेदन तयार गरेको आरोप लगाएका हुन् ।

संसदीय छानविन विशेष समितिको प्रतिवेदनलाई आधार बनाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुद्दा दायर गरिएको खण्डमा सरकारले ९९ प्रतिशत हार्ने सम्भावना रहेको बरिष्ठ अधिवक्ता बिडारीले बताए । उनले लामिछानेले एमालेसँग आत्मसमर्पण गरेको खण्डमा सरकारले सोही प्रतिवेदनको आधारमा मुद्दा अगाडि बढाउने आशंका ब्यक्त गरे ।

‘पैसा खाएकी खाएनन् म जान्दिँन, मलाई थाहा छैन । पैसा खाएपछि गर्नुपर्ने काम गरे । त्यस्तो प्रतिवेदन ल्याउन हुन्छ ? त्यस्तो समझदारी गर्न हुन्छ ? एउटा मान्छे मारिन्छ कुनै ठाउँमा, राजनीति दल बसेर फलानोलाई मुद्दा लगाउने, फलानोलाई नचलाउने भन्न पाइन्छ ? फौजदारी न्याय त्यही हो ?’ उनले प्रश्न गरे ।

साथै, नेता बिडारीले लामिछानेको मुद्दा कमजोर बनाउन रास्वपाका नेता र प्रधानमन्त्री केपी शर्मा ओलीबीच रातिराति छलफल हुने गरेको खुलासा गरे । बिडारीले रास्वपा र एमालेबीच समझदारी भएर सरकारले उनको मुद्दा कमजोर बनाउने र प्रमाण पेश नै नगर्दिने खतरा रहेको बताए ।

‘अहिले पनि सरकारले रविले मुद्दा जित्नेगरी मुद्दा दर्ता गर्न पनि सक्छ । यदि अहिलेको सरकारसँग रजिजीले आत्मसमर्पण गरे भने । त्यो आत्मसमर्पण गरेको जनतालाई थाहा हुँदैन । त्यो भित्री कुरा हो । अहिले पनि वार्ता, छलफल चलिरहेको छ । दिउँसो, दिउँसो नारा छ, भित्र–भित्र वार्ता छ । अब मुद्दा लाग्छ, लाग्छ, तर कमजोर पार्दिने, प्रमाण पेश नगर्दिने,’– उनले भने ।

साथै, रवि लामिछाने गृहमन्त्री रहँदा नै उनीविरुद्धका प्रमाणहरु नष्ट भइसकेको नेता बिडारीको दाबी छ । उनले सहकारीको निर्णय गायव गराएको, गोर्खा मिडिया नेटवर्कले ऋण लिन पेश गरेका सबै निवेदन गायव गरिएको, निर्णय गरेको माइन्यूट गायव गरिएको उनको आरोप छ ।

सहकारी ठगी प्रकरणमा फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई पक्राउ परेको खण्डमा रवि लामिछाने झन फस्ने उनको दाबी छ । नेता बिडारीले लामिछाने झन फस्ने सम्भावना रहेकाले वर्तमान सरकारले उनलाई पक्रिन नचाहेको बताए । ‘जीबी राई पक्राउ परेर आयो भने रविजी झनै फस्छन् । अहिले जिबी राई छैनन्, सबैले दोष उनैलाई थुपारेका छन् । जिबी राई आएपछि त सबै भनिदिन्छन् नि । प्लानिङ यसरी भएको, योजना यसरी गरेको, यहाँ बसेर गरेको, पैसा यसरी ल्याएको, मलाई सञ्चार माध्यमबारे जानकारी थिएन । टिभीको जानकार भनेको रविजी नै हो इत्यादि भन्ला नि त,’– उनले भने ।

नेता बिडारीले सहकारी ठगी प्रकरणमा थापा नेतृत्वको समितिले दिएको प्रतिवेदनको आधारमा रास्वपाले अहिले बोल्ने ठाउँ पाएको टिप्पणी गरे । ‘सूर्य थापाले दिएको प्रतिवेदनको कारणले रास्वपाले आफ्नो भनाइ राख्न पाएको छ । त्यो प्रतिवेदन नभइकन अनुसन्धानमात्रै नभएको भए चुइँक्क बोल्ने ठाउँ थिएन । उनले द्वैद्ध अर्थ लगाउने कुरा गरे । राजनीतिक कप्रमाइजको कुरा गरे । त्यहाँ अरु पनि सदस्य छन्, त्यो समितिमा कम्प्रमाइज गरे । मैले सुनेअनुसार सूर्यजी र रास्वपाका सभापति दर्जनौं पटक एक्लै बसे । त्यो राजनीतिक मोलमोलाई थियो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्