काठमाडौं, २७ कार्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अब आन्दोलन गर्ने नैतिक धरातल नरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो नेतालाई पक्राउ गरेर अनुसन्धान गर्यो भनेर आन्दोलन गर्ने रास्वपाले नैतिक धरातल गुमाइसकेको टिप्पणी गरेका हुन् ।
साथै, मन्त्री दाहालले रास्वपाको आन्दोलनको कुनै औचित्य नरहेको र उक्त आन्दोलन तुहिने दाबी गरे । उनले भने,‘अब राष्ट्रिय स्वतन्त्र पार्टीसँग नैतिक धरातल पनि छैन । कुनै अनुसन्धान गर्न नदिने, आफ्नो नेतालाई अनुसन्धान गर्यो भनेर नारा जुलुस गर्ने, यस्ताहरुले हामीलाई के सिकाउँछन् ? यस्ताले सिकाउने कुनै नैतिक आधार छ तिनीहरुको ? यो अर्थ न बर्थको आन्दोलन हो । यो आन्दोलन तुहिन्छ ।’
रास्वपाका सभापति रवि लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगी र सङ्गठित अपराध कसुरमा उनीमाथि अनुसन्धान भइरहेको छ । तर, रास्वपा नेताहरुले भने प्रतिशोध साँधेर लामिछानेलाई हिरासतमा राखिएको भन्दै आन्दोलन गर्दै आएका छन् । रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिइसकेको छ ।