काठमाडौं, २८ कार्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले अबको मन्त्री आफू रहेको दाबी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मन्त्रिपरिषद् फेरबदलको तयारीमा रहेको र अबको केही समयपछि आफू मन्त्री बन्ने बताएका हुन् ।
उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अनेक आश्वासन दिएर पार्टीमा ल्याएपनि अहिलेसम्म मन्त्री नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरे । नेता साहले यसपटक आफ्नो कार्यक्षमताको मूल्याङ्कन गरेर प्रधानमन्त्री ओलीले जिम्मेवारी दिने विश्वास व्यक्त गरे । एमालेबाट सरकारमा सहभागी भएर कार्यसम्पादन कमजोर रहेका मन्त्रीहरु रेड जोनमा रहेका र उनीहरु छिट्टै परिवर्तन हुने नेता साहले बताए ।
‘अब अध्यक्षजीलाई नै थाहा होला, कहिले मन्त्री बनाउनुहुन्छ ? उहाँले विभिन्न किसिमका कुराहरु भन्नुभएको थियो । तपाईँ योग्य, सक्षम मान्छे हो । स्वतन्त्र जितेर त्यतिकै आउनुभएको छैन । तपाईँ स्वतन्त्र जित्नुभएको छ, तपाईँलाई उपयुक्त ठाउँ दिन्छौं । उहाँले कार्यक्षमताको मूल्याङ्कन गरेर मन्त्री दिनुहुन्छ होला । म ढुक्क छु । अहिले हेरिराख्नु भएको छ, कार्यक्षमताको मूल्याङ्कनको आधारमा मन्त्रीहरु फेरबदल हुने परिस्थिति पनि बन्दैछ । मन्त्रिमण्डलमा फेरबदल हुँदैछ,’– उनले भने ।