Logo

भुटानी शरणार्थीमा आरजु र सहकारी ठगीमा धनराजदेखि ऋषिकेशसम्मलाई पक्राउ गर्नुपर्छः अधिवक्ता नेपाल (भिडिओसहित)



काठमाडौं, २८ कार्तिक । अधिवक्ता स्वागत नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले मिसिल संलग्न प्रमाणका आधारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुको संलग्नता पुष्टि हुने बताएका हुन् । उक्त मुद्दामा आफूले बहस पैरवी गरेको बताउँदै उनले आरजुलाई पक्राउ गर्न त्यतिबेलै आफूले माग गरेको पनि उनले सुनाए ।

त्यस्तै, अधिवक्ता नेपालले सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेल, पोखरेलकी श्रीमती अञ्जला कोइराला, राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँबर, नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँबरलगायतलाई तत्काल पक्राउ गर्नुपर्ने उनको माग छ ।

नेपाल प्रहरीका आइजीपी कुबँरले तत्कालीन गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसद्लाई ढाँडेर अनुसन्धान गर्नुपर्ने मान्छेलाई उन्मुक्ति दिन खोजेको उनले बताए । यस्तो प्रकारको कसुर गर्ने व्यक्तिलाई अपराध संहिताको दफा ९९ बमोजिम ६ महिनासम्म कैद गर्न सकिने उनले बताए । त्यस्तै, राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम आईजीपी वसन्तका दाजु हुन् । उनी सहकारी ठगी मुद्दाका फरार आरोपित गितेन्द्रबाबु राईका कानुनी सल्लाहकार रहेको खुल्न आएको छ । उनलाई पद र शक्तिको दुरुपयोग गरी अहिलेसम्म अनुसन्धानमा नतानिएको भन्दै आलोचनासमेत भइरहेको छ ।

कांग्रेस उपसभापति गुरुङ र एमाले नेता पोखरेल श्रीमतीका कारण बदनाम छन् । गुरुङकी पूर्व श्रीमती ज्योतिले सहकारीको १४ करोडभन्दा बढी अपचलन गरेको आरोप छ । सो कार्यमा धनराजको पनि संलग्नता रहेको र सोही मुद्दालाई गुपचुप पार्न उनीहरुले सम्बन्धविच्छेद गरेको आरोप लाग्दै आएको छ । त्यस्तै ऋषिकेशकी श्रीमती अञ्जला पनि सहकारीकी पूर्व सञ्चालक हुन् । उनीमार्फत पनि मोरङस्थित उमागौरी सहकारीको ठूलो रकम हिनामिना भएको पाइएको छ । तर, उनीहरु कसैलाई पनि अहिलेसम्म अनुसन्धानको दायरामा तानिएको छैन ।

‘नेपाली कांग्रेसका उपसभापतिलाई तत्कालै पक्राउ गर्नुपर्छ । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँबरलाई तत्काल पक्राउ गर्नुपर्छ । वर्तमान आईजीपीलाई तत्काल प्रक्राउ गर्नुपर्छ ।, त्यो भइरहेको छैन । हाम्रो अराध संहिताको दफा ९९ बमोजिम उहाँले संसद्लाई ढाँट्नुभयो । उहाँले कुनै पनि जाहेरी परेको छैन भन्नुभयो । त्यही फाइलबाट झिकेको जाहेरीबाट अहिले रवि लामिछानेमाथि छानविन भइरहेको हो । यसलाई लुकाउनु भएको थियो उहाँले । अहिलेको कांग्रेसको उपसभापतिसमेतलाई उहाँले अनुसन्धानको दायरामा ल्याउनु भएको छैन । अनुसन्धान गर्नुपर्नेलाई नगर्ने, ढाँट्ने, यसरी गर्नुपर्ने काम नगर्नेलाई छ महिनासम्म कैद हुने व्यवस्था हाम्रो संहिताले गरेको छ । एमालेकै नेता ऋषिकेश पोखरेल र उहाँकी श्रीमती दुवै जनालाई पक्राउ गर्नुपर्छ । यो भइरहेको छैन,’– अवधिक्ता नेपालले भने ।



प्रतिक्रिया दिनुहोस्