काठमाडौं, २८ कार्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको निर्देशनलाई मान्दै लाइन काटिएका उद्योगहरुमा बिजुली जोड्ने प्रक्रिया अगाडि बढेको बताएका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै उनले २४ घण्टाभित्र लाइन काटिएका उद्योगहरुमा लाइन जोड्नु भन्ने सरकारको निर्देशन प्राप्त भएकाले सोहीअनुसार अगाडि बढिएको बताए । कार्यकारी निर्देशक घिसिङले अब उद्योगीहरुले विद्युत जोडिएको १५ दिनभित्र बक्यौता बुझाउनुको विकल्प नरहेको बताए । सरकारले नै उद्योगीहरुलाई १५ दिनभित्र बिलअनुसारको बक्यौता बुझाउनु भनेर निर्देश गरिसकेको उनको भनाइ छ ।
‘१५ दिनभित्र हामीले गरेको बिलअनुसारको रकम नबुझाए हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं । अब नेपाल सरकारले पनि भनिसकेको अवस्था छ–१५ दिनभित्र बक्यौता रकम असुल उपर गर्नु । यो नेपाल सरकार, उर्जा तथा जलस्रोत मन्त्रालय सबैको एकमुष्ठ दायित्वभित्र आएको छ । १५ दिनभित्र बक्यौता रकम उठेन भने नेपाल सरकार, उर्जा तथा जलस्रोत मन्त्रालय बक्यौता रकम उठाउनेतिर अगाडि बढ्छ भन्ने मलाई पूर्णरुपमा विश्वास छ,’– उनले भने ।
योभन्दा अगाडि प्राधिकरणले २८ किस्ता सुविधा दिएर एक किस्तामात्रै जम्मा गर्दा पनि लाईन जोड्दै आएको पनि उनले स्मरण गराए ।१४ वटा उद्योगमा सुरुको १ किस्ता बुझाएको आधारमा नै लाइन जोडिएको उनले बताए । हाल बक्यौताको कुनै पनि किस्ता नबुझाउनेमा २८ वटा उद्योग रहेको उनले बताए ।
उनले अब पनि उद्योगी व्यवसायीहरुले सरकारको निर्देशन बेवास्ता गरेर बक्यौता नबुझाएमा यो विषय प्राधिकरणको मात्रै नरहने बताए । उनले अब पनि बक्यौता नउठेमा यस विषय आम नागरिकको विषय बन्नुपर्ने र आम नागरिकले यसमा जिज्ञासा राख्नुपर्ने बताए ।