Logo

मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो, बजगाईँले धमिलो पानीमा माछा मार्न खोजेको आरोप



काठमाडौं, २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले लगाएको आरोपविरुद्ध कानुनी लडाईँ लड्ने बताएका छन् । आफ्नो मानमर्दन गरेर र मनोबल गिराएर पर्यटन क्षेत्रलाई धमिलो पानीमा माछा मार्ने र खेलोफड्को गर्ने क्षेत्रको रुपमा सांसद बजगाईँले राखिराख्न चाहेको उनले बताए । मन्त्री पाण्डेले आफू इमान र निष्ठाबाट कहिले पनि बिचलित नभएको बताए ।

‘केही मानिसहरु जो पर्यटन क्षेत्रबाट नाजायज लाभ लिन खोजिरहेका मानिसहरु, नाजायज लाभबाट आफ्नो व्यक्तित्व विकास गर्न खोजिरहेका मानिसहरु, जसको इमान र निष्ठा छैन, जसको इज्जत र प्रतिष्ठा छैन, ती मानिसहरुले मेरो यो सत्प्रयासलाई मानमर्दन गर्नेगरी, मेरो मनोबल गिराएर यो क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफूले नाजायज फाइदा लिन, आफ्नो खेलोफड्को बलियो भनाउन यो आएको हो । मैले यो कुरा सरकारलाई पनि भन्छु, पार्टीलाई पनि भन्छु । मेरो आफ्नो नैतिक बलका आधारमा कानुनी लडाइँ लड्छु, नैतिक लडाईँ पनि लड्छु,’– मन्त्री पाण्डेले भने ।

सांसद् बजगाईँले मन्त्री पाण्डेमाथि क्यासिनो खोल्ने अनुमति दिँदा करोडौं घुस खाएको आरोप लगाएका थिए । सामाजिक सञ्जालमार्फत मन्त्री पाण्डेमाथि निरन्तर प्रहार गर्दै आएका सांसद बजगाईलाई उनले आरोप प्रमाणित गराएर देखाउनसमेत चुनौति दिएका छन् । सांसद पाण्डेले लगाएको आरोप प्रमाणित भए नेपाली कांग्रेसको सहमहामन्त्री, सांसद, मन्त्री सबै पदबाट राजीनामा दिएर राजनीति नै छाडिदिने उनले बताए । आफूले अहिलेसम्म राजनीतिमा स्वच्छ चरित्रलाई कायम राखेको दाबी गर्दै उनले मन्त्रालयबाट बाहिरिँदै गर्दा पनि बेदाग बाहिरिने बताए । उनले आफू सुशासन स्थापित गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने विषयमा बडो सचेत रहेकोसमेत बताए ।

‘नेपाली कांग्रेसबाटै निर्वाचित सांसदले म नेपाली कांग्रेस पार्टीकै पदाधिकारी, सहमहामन्त्री पनि हुँ, मन्त्रिपरिषद्मा छु । यो मन्त्रिपरिषद्मा आएसँगै मेरो कमिटमेन्ट के छ भने, स्वच्छ कामहरु, नियमित कामहरु, कानुनसम्मत कामहरु मन्त्रालय र मन्त्रीको तहबाट रोकिन हुँदैन । गलत कामहरु कदापी अगाडि बढ्न दिन हुँदैन भन्ने कुरामा मेरो कमिटमेन्ट छ । मेरो कमिटमेन्ट के पनि हो भने, जुन स्वच्छ राजनीतिक चरित्र लिएर म यहाँ आएको छु, त्यतिकै स्वच्छ चरित्र लिएर बाहिर निस्कुँ । बहिरगमन हुँ भन्ने कमिटमेन्ट छ । अहिले देशले भोग्नुपरेको एउटा समस्या भनेको सुशासनको समस्या हो । सुशासनलाई आफ्नो मन्त्रालयमार्फत कसरी स्थापित गर्ने ? भ्रष्टाचारलाई कसरी न्यूनीकरण गर्ने ? भन्ने सन्दर्भमा म बडो सचेततापूर्वक प्रतिवद्ध छ्,’– उनले भने ।

मन्त्री पाण्डेले आफ्नो राजनीतिक पुँजी नै इमान र निष्ठामा आधारित रहेको दाबी गरे । उनले आफूसँग कुनै घर, गाडी र सम्पत्ति नरहेको बताउँदै निष्ठा र इमानको बलमा राजनीति गरिरहेको बताए । उनले आफ्नै पार्टीबाट निर्वाचित सांसदले लगाएको आरोपबाट आफैं आश्चर्य चकित भइरहेको समेत सुनाए । निष्ठा र इमानमाथि धावा बोल्ने कामले आफूलाई भावनात्मक चोट पुगेको पनि उनले बताए । आफूमाथि लागेको आरोपबारे पार्टी र सरकारसँग पनि छलफल गर्ने उनले बताए ।

‘पार्टीबाट निर्वाचित एक जना सांसदले त्यो तहमा ओर्लिएर गर्ने टिप्पणीबाट म आश्चर्य चकित भएको छु । यो मेरो इमान र निष्ठा जुन मेरो मूल पुँजी हो, त्यसमाथि धावा बोल्ने कुराले मेरो भावनामाथि गम्भीर चोट पुगेको छ । यसको निम्ति मैले के गर्नुपर्छ ? मैले गल्ती गरेको रहेछु भने मन्त्रीमात्रै होईन, पार्टीको सहमहामन्त्री र सांसदको रुपमा र पार्टी सदस्यको रुपमा मैले बस्न मिल्दैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्