काठमाडौं, २८ कार्तिक । सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बयान लिएको छ ।आज (मंगलबार) सीआईबीले गुरुङलाई कार्यालयमा बोलाएर बयान लिएको हो ।
कांग्रेस उपसभापति गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङले ललितपुरको मितेरी सहकारीबाट १४ करोडभन्दा बढी अपचलन गरेको आरोप छ । उक्त कार्यमा धनराजको पनि संलग्ना रहेको भनेर आलोचना भइरहेको छ । सोही विषयमा गुरुङलाई सीआईबीले बोलाएर कागजी बयान गराएको हो । उनीसँग सीआईबीले ५ घण्टाभन्दा बढी समय बयान लिएको छ ।
धनराजकी पूर्व श्रीमती ज्योति हाल फरार छिन् । सहकारी ठगी सम्बन्धमा छानविन गर्न बनेको संसदीय छाविन विशेष समितिले धनराजमाथि समेत छानविन गर्न सिफारिस गरेको थियो । धनराज र उनीकी श्रीमतीबीच सम्बन्धविच्छेद भइसकेको छ । सम्बन्धविच्छेद भइसकेको अवस्थामा पनि धनराजले सो सहकारीमा गएर केही किस्ता बुझाएको खुल्न आएको छ ।