काठमाडौं, ३० कार्तिक । नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठोरले पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले प्रमाणविना नै बोलेको टिप्पणी गरेका छन् । कांग्रेस सह–महामन्त्रीसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले क्यासिनोको अनुमति दिँदा करोडौं घुस खाएको बजगाईँले आरोप लगाएका थिए ।
बजगाईँको आरोपको खण्डण गर्दै उनले जिम्मेवार व्यक्तिले यसरी प्रमाणविना नै बोल्न नमिल्ने बताए । ‘त्यसरी भन्न मिल्छ ? केही प्रमाण छ भने सम्बन्धित ठाउँमा भन्ने कुरा हो नि । जिम्मेवार व्यक्तिले यसरी जथाभावी बोल्ने कुरा ठीक होईन । प्रमाण दिनुपर्यो नि त उहाँले । त्यसरी लेखेर भएन । घुस खाएको हो भने अख्तियारमा प्रमाणसहित दिनुपर्यो । उहाँले घुस खाएको हो भन्ने मलाई लाग्दैन,’– सहमहामन्त्री राठोरले भने ।
उनले मन्त्री पाण्डेले घुस खाएको प्रमाण भए पेश गर्न चुनौति दिए । प्रमाण पेश गरेको खण्डमा पार्टीले पनि मन्त्री पाण्डेलाई कारबाही गर्ने बताए । ‘उहाँजस्तो जिम्मेवार व्यक्तिले त्यसरी भन्न मिल्दैन । प्रमाण दिनुपर्यो नि ? किन कारबाही गर्दैैन ?’ प्रश्न गर्दै उनले भने ।