काठमाडौं, ३० कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले वर्तमान सरकार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनेतर्फ लागिरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगै संवाद गर्दैै उनले सरकारले उर्जाका क्षेत्रमा भइरहेको प्रगति र उज्यालो देख्नै नसकेको बताएका हुन् ।
वर्तमान सरकारले उर्जा क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदानलाई देखिनसकेको उनको टिप्पणी छ । उनले सरकार डेडिकेटेड टंकलाईन विवाद समाधान गरेर उद्योगी व्यवसायीबाट बक्यौता उठाउनेतिर नलागेर कसरी कार्यकारी निर्देशकलाई हटाउन सकिन्छ भनेरमात्रै लागेको टिप्पणी गरे । हालका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको व्यवहार झनै दिक्कलाग्दो रहेको उनको टिप्पणी छ ।
‘सरकार र सरकार प्रमुख नै यतिधेरै प्रगति, यतिधेरै उज्यालो, अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको यो कुरालाई देखिनसहेर बक्यौता उठाउनेतिर ध्यान दिँदैन । कुलमानजीलाई कसरी प्राधिकरणबाट हटाउने भनेर रातोदिन लागेकै छ । खासगरी हालका उर्जामन्त्रीजीले गरेका अस्वभाविक क्रियाकलाप देख्दा दिक्क लाग्दो अवस्था छ,’– उनले भने । File Photo/RN