काठमाडौं, ३० कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा उदाएका नवप्रतिभाहरुलाई देखिनसहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र निर्वाचित हर्क साम्पाङ, बालेन्द्र शाह, गोपी हमाललगायतलाई धारेहात लगाएर सरापिरहेको बताएका हुन् ।
नेता सापकोटाले लोकतन्त्रलाई सुन्दर फुलबारीको संज्ञा दिँदै यहाँ हरेक प्रकारका विचारले सम्मान पाउनुपर्ने बताए । माओवादी अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिमा उदाएका नवप्रतिभाहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेको स्मरण गराउँदै उनले देशको वर्तमान प्रधानमन्त्रीले भने देखिनसकेको बताए ।
‘रास्वपा र हामी अहिले प्रतिपक्षमा छौं । नेपालमा लोकप्रियतावादी एउटा शक्ति छ । अहिले त्यो राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा नेतृत्व गरिरहेको छ । कुनै न कुनै प्रकारको लोकप्रियतावादी मत यो समाजमा रहिनै रहन्छ । अर्को ८४ सम्म जाँदाखेरी के नामको, कुन शक्ति आइपुग्छ ? त्यो दोस्रो कुरा हो । तर, हाम्रो पार्टी अध्यक्षले पनि भनिसक्नुभएको छ र हाम्रो स्पष्ट कुरा के छ भने नयाँ–नयाँ ढंगले विकास भएर आएका रास्वपामात्रैको कुरा भएन, पूर्वतिर जाँदा हर्कजीहरु हुनुहुन्छ, पश्चिमतिर जाँदा हमालजी हुनुहुन्छ । मुख्य राजधानीमा बालेनजीहरु हुनुहुन्छ ।’ उनले भने, ‘यस्ता नयाँ प्रतिभाहरु उम्रिराखेका छन्, फूलिराखेका छन् । यसलाई प्रोत्साहन गर्नुपर्छ । हाम्रो देशको प्रधानमन्त्रीले हेर्नुभयो भने यस्तो प्रकारले उम्रिराखेका मुनाहरुलाई, व्यक्तिहरुलाई धारेहात लगाएर सराप्ने, ह्यारेस गर्ने, डोमिनेट गर्ने काम गरिरहनुभएको छ । त्यो राम्रो काम होईन । लोकतन्त्र भनेको सुन्दर फूलबारी हो । फूलबारीमा अनेक प्रकारका फूलहरु हुन्छन् ।’