काठमाडौं, ३० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि संसद् विघटन हुनसक्ने आशंका व्यक्त गरेका छन् । स्मृतिमा अखिल सर पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय लोकतान्त्रिक गणतन्त्रमाथि विश्वास र भरोसा नै नरहेको टिप्पणी गरे । अहिले देशको राजनीति जटिलतातिर गएको बताए ।
ओलीबाट विगतमा पटक–पटक संविधानको भावना र मर्मविपरीत संसद् विघटन गरेर देशलाई फेरि भुमरीतिर लैजाने प्रयास भएको बताउँदै उनले संविधान र सिस्टममाथि घात हुनसक्ने चिन्ता आफूलाई रहेको बताए । उनले आफू यो संविधान र सिस्टमको जन्मदाता रहेको दाबी गर्दै सबैभन्दा बढी चिन्ता रहेको बताए ।
संविधान र सिस्टमविरुद्ध लोकतन्त्रवादी, वामपन्थीहरु मिलेर विगतमा पनि संघर्ष गरेको स्मरण गराउँदै उनले अहिले पनि त्यो कोशिस कतैबाट हुनथाल्यो भने रोक्न तयार भएर बस्नुपर्ने बताए ।
‘यो परिवर्तनका हिस्सेदारहरु, यो संविधानका पक्षधरहरु, जो साँचो अर्थमा हृदयदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध थियौं, छौं । हामी कहीँ न कहीँ सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यक्ता छ । कतै संविधान मिच्ने, संसद्लाई फेरिपनि विघटन गर्ने कसरत कतै नहोस् । देशलाई फेरि एकचोटी प्रतिगमनतिर लैजाने प्रयास सफल हुन नपाओस् भन्ने कुरामा सतर्क र सजक हुनुपर्ने पनि आवश्यक्ता छ,’– उनले भने ।