काठमाडौं, ३० कार्तिक । सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्कीबाट रूपन्देही ल्याइएका रास्वपा सभापति, पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिएको छ । आज (शुक्रबार) भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सभापति लामिछानेलाई पोखरा लगिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगीमा जोडिएका लामिछानेलाई प्रहरीले तीन दिन लगाएर बयान लिएको थियो । हिजो बयान सकिएपनि लामिछानेलाई आज यति एयरको विमानमार्फत पोखरा लगिएको हो ।
सहकारी ठगी र संगठित अपराध कसुरमा लामिछाने गत कार्तिक ३ गतेदेखि प्रहरी हिरासतमा छन् । गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रहँदा सहकारीबाट पैसा ल्याउने र परिचालन गर्ने कार्यमा संलग्नता रहेको भन्दै उनलाई अनुसन्धानमा तानिएको हो ।
लामिछाने लामो समयदेखि प्रहरी हिरासतमा रहँदा रास्वापाका नेता तथा सांसदहरु भने चरणवद्ध आन्दोलनमा छन् । उनीहरुले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको र हिरासतमा राखिएको दाबी गर्दै आइरहेका छन् । File Photo/RN