Logo

उन्मुक्ति खोज्न चलाखी गर्दै कांग्रेसका माननीयः धनराजले श्रीमती छाडे, कान्छारामले कम्पनी



मोहन बुढाक्षेत्री

काठमाडौं, ३० कार्तिक । नेपाली कांग्रेसका उपसभापति, प्रतिनिधि सभा सदस्य, एवं पूर्वमन्त्री धनराज गुरुङ यतिबेला सहकारी ठगी प्रकरणमा मुछिएर विवादित बनेका छन् । उनकी पूर्व श्रीमती ज्योति गुरुङले ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीमा साढे १४ करोड अपचलन गरेको विषय सतहमा आएपछि उनी विवादमा तानिएका हुन् । हुन त धनराज र ज्योतिबीच २०७६ फागुन २९ गते ललितपुर जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको थियो । तर, धनराजले २०७९ मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको व्यक्तिगत विवरणमा श्रीमतीको नाम ज्योति गुरुङ नै उल्लेख गरेका छन् । त्यतिमात्रै नभएर धनराजले मितेरी सहकारीमा पुगेर डिभोर्स भइसकेकी श्रीमतीको लोनको किस्तासमेत हालिदिएका छन् ।

यी गतिविधिले उनीहरुबीच सहकारी ठगी प्रकरणबाट उन्मुक्ति पाउन सम्बन्धविच्छेद भएको हुनसक्ने आशंका छ । सहकारी ठगी प्रकरण छानविन गर्न सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा बनेको संसदीय छानविन विशेष समितिले समेत मितेरी सहकारीको स्थलगत अनुगमन गरी रिपोर्ट तयार रहेको थियो ।

संसदीय छानविन विशेष समितिले सहकारीका अध्यक्ष कुम्मराज गुरुङसँग लिएको बयानमा उनले ज्योति र धनराजको बीचमा डिभोर्स सहकारीको हरहिसाबबाट बच्नमात्रै भएको बताएका थिए । धनराजले बेला–बेलामा आएर उक्त पैसा आफूले तिर्ने बताउँदै आएको पनि उनले खुलासा गरेका थिए । धनराजलाई सो सहकारी ठगी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लेसमेत कागजी बयान लिइसकेको छ ।

त्यस्तै, कांग्रेसका अर्का विवादित माननीय हुन्,रामेछापबाट प्रतिनिधि सभामा निर्वाचित भएका पूर्णबहादुर तामाङ । उनी रामेछाप कांग्रेसका सभापतिसमेत हुन् । उनी राजनीतिमा भन्दापनि ठेक्कापट्टाका कारण विवादमा छन् । देशभर उनले लिएका ठेक्का अलपत्र अवस्थामा छ । उनको कम्पनी कान्छाराम कन्स्ट्रक्सनलाई सडक विभागको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले २ वर्ष छ महिनाका लागि कालो सूचीमा समेत राखिसकेको छ । हिजोमात्रै कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा.लि. लाई कर्णाली प्रदेश सरकार पूर्वाधार विकास निर्देशनालयले समयमै ठेक्का सम्पन्न गर्न ताकेता गर्र्दै सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।

देशभर ठेक्का अलपत्र पारेर संघीय सरकारको उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको कुर्सीमा विराजमान मन्त्री पूर्णबहादुर उर्फ कान्छारामले आज उक्त कम्पनीको स्वामित्व आफूसँग नरहेको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले कान्छारामको अलपत्र ठेक्काबारे प्रश्न उठाएपछि उनले आफू सो कम्पनीबाट बाहिरिसकेको जानकारी गराएका हुन् । उनले प्रतितिनिधि सभा सदस्यका लागि टिकट पाउनुअघि नै आफूले कान्छाराम कन्स्ट्रक्सन छाडेको बताए । आफूले २०४४ साल माघ १९ गते कान्छाराम कन्स्ट्रक्सन दर्ता गरेको भएपनि अहिले सो कम्पनीको स्वामित्व आफूसँग नरहेको उनले बताए । ‘अहिले सबै जिम्मा लगाएर त्यो पेशाबाट म बाहिर छु,’– उनले भने ।

कान्छारामको कम्पनीले ठेक्का लिएका देशभरका निर्माण कार्यहरु अलपत्र अवस्थामा छन् । राज्यमन्त्री तामाङ विवादित निर्माण व्यवसायी हुन् । उनले लिएका ठेक्काहरु वर्षौसम्म पूरा नभएकोदेखि मजदुरहरुलाई ज्याला नदिएकोसम्म विवाद सतहमा आउने गरेको छ ।

यसरी धनराजले सहकारी ठगी प्रकरणबाट बच्न कागजी सम्बन्धविच्छेद गरेको प्रकरण सेलाउन नपाउँदै कांग्रेका अर्का माननीयले अलपत्र ठेक्काबाट उन्मुक्ति खोज्न कम्पनी नै छाडेको पाइएको छ । माननीयहरुले चलाखी गरेर यी दुवै प्रकरणबाट बच्न खोजेको प्रष्ट हुन्छ । यस्ता प्रकारका स्क्यामलाई विकसित देशहरुमा ह्वाइट कलर क्राइमको रुपमा लिने गरिन्छ । यस्तो प्रकारको ह्वाइट कलर क्राइममा संलग्नलाई कारबाही नभएसम्म धनराज र कान्छाराम प्रतिनिधि पात्रको रुपमा रहिरन्छन्, अपराध मौलाइरहन्छ ।



प्रतिक्रिया दिनुहोस्