काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि सत्तारुढ दल नेपाली कांग्रेसले भने उम्मेदवार छान्न सकेको छैन् । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरसहित ३४ पदमा कांग्रेसले उम्मेदवार टुंग्याउन नसकेको हो । कांग्रेसले हालसम्म १० स्थानमा उम्मेदवार टुंग्याएको छ ।
शुक्रबार कांग्रेसले रिक्त ४४ पदमध्ये १० स्थानमा उम्मेदवार छनोट गरेको जानकारी दिएको हो । जसअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदार छानिएका छन् ।
त्यस्तै, ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ को वडाध्यक्षमा भीमकुमार लक्सम्वा, झापाको कन्काई नगरपालिका–६ मा रामगोपाल वली र तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा नगेन्द्र लिम्बूलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ ।
सुनसरीको गढी गाउँपालिका–६ मा तेतर साह, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा घनश्याम दाहाल र गोरखाको गोरखा नगरपालिका–५ मा भाइकाजी आले वडाध्यक्षको उम्मेदवार बनेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा सञ्जीव काफ्ले र बेलका नगरपालिका–९ मा नवराज बस्नेतलाई टिकट दिइएको छ । कांग्रेसले जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा टेकराज भट्टराईलाई उठाउने छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर, कीर्तिपुर ४ को वडाध्यक्ष र काठमाडौं १६ को वडाध्यक्षमा कांग्रेसले उम्मेदवार टुंग्याउन सकेको छैन् । शहरी मतदाता रहेको र राजनीीतक दलहरुले केन्द्रविन्दुमा राखेको कीर्तिपुरमा सबैको ध्यान छ । कीर्तिपुरको मेयरमा नेकपा एमालेले डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउँदा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले डा शिवनारायण महर्जनलाई उम्मेदवार बनाएको छ । रास्वपाले जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । राप्रपाले इन्जिनियर धुब महर्जनलाई उठाएको छ ।
तीन पार्टीले उम्मेदवार छनाटे गरेर चुनावी प्रचारप्रसार गरिरहँदा कांग्रेसले भने उम्मेदवार छान्न सकेको छैन् । कांग्रेसबाट कीर्तिपुरमा नगरसभापति कृष्णमान डंगोलसहित १३ जनाको नाम सिफारिस भएको छ । कीर्तिपुरमा तीन दशकदेखि एमालेले एकछत्र जित्दै आएकोमा गत निर्वाचनमा कांग्रेसले जित निकालेको थियो । कीर्तिपुरको मेयर जितेका राजकुमार नकर्मीको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा स्वर्गीय नकर्मीकी श्रीमती जमुना नकर्मीले पनि दाबी गरेकी छन् । यद्यपि अन्तिम टुंगो लागेको छैन् ।
त्यसोत टिकट वितरणमा ढिलाई गर्ने कांग्रेसको पुरानै रोग हो । टिकट वितरणमा कांग्रेसको गुट उपगुटलाई व्यवस्थापन गर्नुपर्ने वाध्यताले गर्दा टिकट वितरण सहज रुपमा हुँदैन । यसअघि गत वैशामा भएको प्रतिनिधि सभा उपनिर्वाचन र प्रदेश सभाको उपनिर्वाचनमा पनि कांग्रेसले मनोनयनको अघिल्लो दिन टिकटको टुंगो लगाएको थियो । एमालेले एक महिना अघिनै इलाममा सुहाङ नेम्वाङ र बझाङमा दामन भण्डारीलाई उम्मेदवार बनाउँदा कांग्रेसले उम्मेदवारी दर्ताको अघिल्लो दिन इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई टिकट दिएको थियो । तर,दुवै ठाउँमा पराजित भए ।
अहिले स्थानीय तहका ३९ पद रिक्त छन् । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३० वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।
उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।