काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारविरुद्ध आज काठमाडौंमा प्रदर्शन गरेको छ । भ्रष्टाचारविरुद्ध आजबाट मधेस प्रदेशमा मधेस यात्रा सुरु गरेको आजपाले सरकारको मनोमानी करविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको हो ।
आजपाको काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा ‘सरकारको मनपरी कर आतंक बिरुद्ध प्रदर्शन’ कार्यक्रम शान्तिबाटिबाट शुरु भई पुनः सोही ठाउँमा पुगेर समापन भएको छ ।
जनताले तिरेको कर कहाँ छ ?, भ्रष्टाचार गरिसके छ, ‘कर ज्यादतिविरुद्ध एक हौं, मनोमानि कर खारेज गरौं, सरकारको अनावश्यक कर हटाउ, उधोग, व्यवसाय चलाउने वातावरण बनाउ, दलतन्त्रको अत्य गरौं, जनताको लोकतन्त्र वहाली गरौं, लुटेरा सरकार मुर्दावाद, आम जनता पार्टी जिन्दावाद, कर आतंक बन्द गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शनकारीले प्रदर्शन गरेका छन् ।
आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापाले तिनै तहको सरकारले मनपरी कर वृद्धि गर्दै आम जनताको ढाड भाच्ने र लुट मचाउदै राज्यको ढुकुटी लुटिरहेकाले आजपा सडकमा उत्रिनुपरेको बताए ।
सरकार कुम्भकर्ण जस्तै सुतिरहेको अवस्थामा आम जनताको समस्याको बारेमा जानकारी गराउनका लागि पार्टीले काठमाडौं सहित मधेसमा एकै दिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गरेको उनले बताए । मुलुकमा भ्रष्टाचार कुशासन, अनियमितता बढदै गईरहेको बताउदै उनले सोझासाझा जनतामाथि अनावश्यक करमाथि कर थुपार्ने काम सरकारले गरेर राज्यको ढुकुटी लुटेको आरोप उनले लगाए ।