काठमाडौँ । नेपाली कांग्रेसले आजका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक अहिले बिहान साढे १० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ।
पूर्वसभामुख दमननाथ ढुंगानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जली अर्पण गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो।
बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय पदाधिकारी/सदस्यलाई बैठकमा उपस्थित हुन कांग्रेसले निर्देशन दिएको छ। पूर्वसभामुख ढुंगानाको निधन भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्लाबाट काठमाडौँ फर्किसकेका छन्।
कलेजोसम्बन्धी रोगबाट पीडित ढुंगानाको आइतबार काठमाडौँमा निधन भएको हो। श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई सानो गौचरणमा राखिने भएको छ।
बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानसहित गर्ने र आज देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।