काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
आज बसेको पार्टीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो । पूर्व सभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा मंसिर २ गते भएको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको जनाएको छ । ।
नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं। २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख थिए । त्यसैगरी उनी २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नं-२ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं- २ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए । तर,पराजित भए । नेपाली कांग्रेसको विभिन्न पदमा रहेर उनले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।
माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रिया ल्याउन सहजकर्ताको रुपमा समेत उनको सक्रिय भूमिका रहेको थियो । मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि उनले पु¥याएको योगदान सदैव स्मरणीय रहने कांग्रेसले जनाएको छ । उनको निधनबाट सिंगो देशले वरिष्ठ कानूनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको कांग्रेसले ठहर गरेको छ ।
पूर्व सभामुख दमननाथ ढुंगानाको निधनप्रति केन्द्रीय कार्यसमितिको बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको कांग्रेस मुख्यसचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ । त्यस्तै मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको मूख्यसचिव डा पौडेलले जानकारी दिए ।