काठमाडौं, ३ मंसिर । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले अनुसन्धान नगरी कसैलाई पनि थुनामा राख्न नहुने बताएकी छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको सन्दर्भमा कुनै आरोप लाग्नेवित्तिकै पक्रिएर अनुहार देखाइदिने प्रक्रिया गलत रहेको बताएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै उनले नेपालमा पनि पहिला सुनेर मात्रै थुन्नुपर्ने बताएकी हुन् ।
‘अरु देशमा पहिला अनुसन्धान गरेर मान्छेलाई भित्र (थुनामा) लान्छन् । म साउथ लन्डनमा कस्टरी सुभरिभिजनमा गएको थिएँ, त्यहाँ कस्टडीमा पहिला जाँदा उनीहरुको अनुहार नै देखाएन । अपराध गरेको छ, छैन सिधै पक्रिएर अनुहार देखाउन थाल्छ हाम्रो देशमा । यो सुधारिनुपर्यो । अनुसन्धान पहिला, त्यसपछि भित्र । मैले क्रिमिनल जस्टिसमा ३५ वर्ष काम गरेको छु,’– उनले भनिन् ।
उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी थिईन् । उनी उपसभामुख बनेसँगै रास्वपाबाट अलग भइसकेकी छन् । अहिले रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा छन् । उनलाई थुनामुक्त गरेर अनुसन्धान गरिनुपर्ने रास्वपाको माग छ । रास्वपाको सो मागलाई समर्थन गर्दै उनले नेपालमा पनि थुन्नुभन्दा पहिला सुन्नुपर्ने बताएकी हुन् । File Photo/RN