काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४०७ जनाले मनोनयन दर्ता गरेका छन् । आइतबार निर्वाचन आयोगले दिएको समयावधिभित्र राजनीतिक दलबाट २८६ जना र स्वतन्त्रबाट १२१ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारीको ८३।७८ प्रतिशत अर्थात् ३४१ जना पुरुष, १५।७२ प्रतिशत अर्थात् ६४ जना महिला र २ जना यौनिक तथा लैंगिक अल्पसंख्यकको उम्मेदवारी दर्ता भएको आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेलले जानकारी दिइन् ।
आयोगको सूची अनुसार उपनिर्वाचन हुन लागेको ४४ स्थान मध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले ४१ स्थानमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएको छ भने दोस्रोमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बराबर ४०–४० स्थानमा उम्मेदवारी दर्ता गराएको छ ।
यस्तै तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३७ स्थानमा, जनमत पार्टीले १५ स्थानमा, नेकपा एकीकृत समाजवादीले १४ स्थानमा, नेपाल समाजवादी पार्टी (नेसपा) ले १२ स्थानमा जनता समाजवादी पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ११ स्थानमा, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले १० स्थानमा र जनता समाजवादी पार्टी (जसपा) ले ९ स्थानमा उम्मेदवारी दर्ता गराएको छ ।
यता प्रमुख ४ राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर ४४ स्थानमध्ये जम्मा २५ जना महिलालाई टिकट दिएका छन् । निर्वाचन आयोगले प्रमुख पदमा पुरुष निर्वाचित भएका गौरिशंकर, नलगाड, पुथा उत्तरगंगा, सार्केगाड र बाजुराको स्वामि कात्तिक खापर गाउँपालिकाको उपप्रमुखमा अनिवार्य महिला उम्मेदवार हुनपर्ने व्यवस्था गरेको थियो । सोही अनुसार सो स्थानीय तहमा भने सबै राजनीतिक दलले महिलालाई उम्मेदवार बनाएका छन् ।
प्रमुख ४ राजनीतिक दलबाट कहाँ-कहाँ छन् महिला उम्मेदवार ?
स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसबाट कैलालीको जिल्ला समन्वय समितिको प्रमुखमा टीका चौधरी उम्मेदवार बनेकी छन् । त्यहाँ नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवार उठाएको छ । यद्यपीएमालेको समर्थन पाएको कांग्रेसकी चौधरीको जित निश्चित रहेको छ ।
यता रास्वपाले डोटीको पूर्वचौकी गाउँपालिका वडा नम्बर-६ को अध्यक्षमा जानकी कुमारी खडका कुँवरलाई उठाउँदा माओवादीले बाजुराको स्वामीकात्तिक खापरको उपाध्यक्षमा राजुकुमारी विकलाई, नेपाली कांग्रेसले पुलतीसरा शाही र एमालेले शुलोचनाकुमारी भण्डारी बुढालाई उम्मेदवार उठाएको छ । यता जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा रास्वपाले पार्वती पुन, माओवादीले देवका लामिछाने, एमालेले सुनिता बोहरा र कांग्रेसले इन्द्रा चन्द सिंहलाई उठाएको छ । हुम्लाको सार्केगाडमा कांग्रेसले सविता बुढा, एमालेले जना शाही, माओवादीले देवकी तिमल्सिना र रास्वपाले बाँचा बुढालाई टिकट दिएको छ ।
कालिकोटको तिलगुफा नगरपालिका-४ को वडाध्यक्षमा माओवादीले नैसोभा शाहीलाई उम्मेदवार बनाउँदा कांग्रेस एमाले र रास्वपाले पुरुषलाई नै छानेका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादीले नरपुरा बुढालाई उठाउँदा एमालेले केशकुमारी तुलाचन नेपाली कांग्रेसको रुख चिन्हबाट उम्मेदवार बनेकी छन् । त्यहाँ रास्वपाले उम्मेदवार उठाउने व्यक्ति नपाएपछि मनोनयन दर्ता गरेन ।
गोरखा नगरपालिका-५ को वडाध्यक्षमा एमालेले दुर्गा माया थापा रानालाई उम्मेदवार बनाउँदा कांग्रेस, माओवादी र रास्वपाले पुरुष उम्मेदवार बनाएका छन् । त्यस्तै काठमाडौं महानगरपालिका-१६ मा रास्वपाले रजनी श्रेष्ठलाई उठाएको छ । अन्य पार्टीले महिला उम्मेदवार उठाएका छैनन् । दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेले उमा लुंगेलीमगर शेर्पालाई टिकट दिँदा माओवादीले निमलेकी शेर्पा, कांग्रेसले पासाडीकी शेर्पा र रास्वपाले गोमा श्रेष्ठलाई उठाएको छ ।
रौतहटको गडीमाई नगरपालिका-८ को वडाध्यक्षमा एमालेले जीउतीदेवी यादवलाई उम्मेदवार बनाएको छ । महात्तरीको रामगोपालपुर नगरपालिका-२ मा माओवादीले आईतीदेवी यादवलाई टिकट दिँदा सप्तरीको डाक्नेश्वरी-१ को अध्यक्षमा कांग्रेसले भुलीयादेवी थरुनीलाई उम्मेदवार बनाएको छ । यता कोशी प्रदेश अन्तर्गत ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ मा एमालेले कुमारी सावादेनलाई उम्मेदवार बनाउँदा अन्य ठूला दलले पुरुषलाई रोजेका छन् ।