Logo

कांग्रेस-एमाले मिल्दा पनि माओवादीलाई हराउन फलामको चिउरा



काठमाडौं, ३ मंसिर । आसन्न स्थानीय तह उपनिर्वाचनमा पूर्वी रुकुमको पुथा उत्तरगंगामा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी तालमेल गरेका छन् । आगमी मंसिर १६ गते पुथा उत्तरगंगामा उपाध्यक्षमा एमालेकी उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सहयोग गर्ने भएको हो । चुनावी तालमेल विगतमा पनि हुँदै आएको भएपनि यहाँ रोचक के छ भने– केशकुमारी कांग्रेसको चुनाव चिन्ह रुखमा लड्दैछिन् ।

त्यस्तै, सोही गाउँपालिकाको वडा नम्बर २ को अध्यक्ष चयनका लागि एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई कांग्रेसले समर्थन गरेको छ । कांग्रेसले वडा नं. २ मा रोकालाई समर्थन गर्ने भएको छ । पुथा उत्तरगंगा माओवादीको गढ मानिन्छ । कांग्रेस–एमाले नमिली सो क्षेत्रमा माओवादीलाई हराउन नसकिने निश्कर्षसहित तालमेल भएको बताइएको छ ।

माओवादीले नरपुरा बुढा पुनलाई उममेदवार बनाएको छ । आसन्न स्थानीय तह उपनिर्वाचनमा सो पालिकामा उपाध्यक्षका लागि नेकपा (एकीकृत समाजवादी) बाट सुनिता बुढा, स्वतन्त्रबाट मोहनभक्त बुढा र कोपिला पुन बुढाले उम्मेदवारी दिएका छन् ।

गत स्थानीय तह निर्वाचन २०७९ मा उपाध्यक्षमा निर्वाचित भूपेन्द्रा बुढा र वडा २ का अध्यक्ष जसबहादुर श्रीपालीको सडक दुर्घटनामा मृत्यु भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । भूपेन्द्रा र जसबहादुर दुवै माओवादी केन्द्रबाट निर्वाचित थिए । गत २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा पनि सो पालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र नै निर्वाचित भएको थियो ।

स्थानीय तह उपनिर्वाचनमा कांग्रेस–एमाले मिल्दा पनि पुथा उत्तरगंगामा भने माओवादीको पल्लाभारी हुने देखिएको छ । गत स्थानीय तह निर्वाचनामा पुथा उत्तरगंगाका १४ वडामध्ये ९ वटा वडामा माओवादीको प्यानल नै निर्वाचित भएको थियो । २ वटा वडामा भने अध्यक्षसहित ३/३ जना निर्वाचित भएका थिए ।

यस्तो छ गत स्थानीय तह निर्वाचनको मत परिणाम

गत स्थानीय तह निर्वाचन–२०७९ मा पुथा उत्तरगंगामा माओवादी केन्द्रका पुनीराज घर्ती निर्वाचित भएका थिए । माओवादीका घर्ती ३९१३ मतले निर्वाचित हुँदा कांग्रेसका तेजेन्द्र खामले २११३ र एमालेका बागलाल बुढाले १८५२ मत प्राप्त गरेका थिए । कांग्रेस एमाले दुवैको मत जोड्दा पनि माओवादीका घर्तीले प्राप्त गरेको मत ५२ ले मात्रै घटी हो ।

त्यस्तै, उपाध्यक्षमा माओवादीकी भुपेन्द्राले ४०४९ मत ल्याएर निर्वाचित भएकी थिईन् । कांग्रेसकी कलाकुमारी मल्लले २०१० र एमालेकी धर्म घर्ती बुढाले १८१२ मत पाएकी थिईन् । भुपेन्द्राले पाएको मत कांग्रेस–एमालेका उम्मेवारले पाएको मत जोड्दा पनि माओवादी २२७ मतले अगाडि छ ।

प्रतिनिधि सभाका सबैभन्दा ठूला दुई दल मिलेर संघीय सरकार बनाएसँगै जनतामा कांग्रेस–एमालेप्रति वितृष्णा बढ्दै गएको छ । गठबन्धन संस्कृति जनताले मन नपराएको र गठबन्धनमा चुनाव लड्दा साना दलका नेताहरु पनि निर्वाचित भएर संसद्मा आई च्याँखे दाउ थापेको कांग्रेस–एमालेले आरोप लगाउँदै आएका थिए । एमाले महासचिव शंकर पोखरेलले त दुई दलीय व्यवस्थाको वकालत गर्दै आएका थिए । तर, स्थानीय तह निर्वाचनमा नै उनीहरुले गठबन्धनको रणनीति अपनाएको जनताले मन नपराउने धेरैको अनुमान छ । यस आधारमा दुई ठूला दल मिल्दा पनि थुपा उत्तरगंगामा कांग्रेस–एमालेलाई माओवादीको पल्लाभारी हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्