Logo

झाँक्री प्रकाश भुजेल ५२ लाख दिन सहमत भएपछि नगरकोटी दम्पत्तिको शव उठाईंदै



काठमाडौं । झाँक्री प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट ज्यान गुमाएका दुई जनाको शव आज परिवारले बुझ्ने भएका छन् । झाँक्री भुजेलले मृततको परिवारलाई एकमुष्ट ५२ लाख दिन सहमत भएपछि परिवारले शव बुझ्न लागेका हुन् ।

गत बुधबार दिउँसो काठमाडौंको थलीबाट साँखुतर्फ आउँदै गरेको प्रकाश भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको कारले सोही दिशातर्फ आउँदै बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनामा परेर कागेश्वरी मनोहरा नगरपालिकाका नारायण नगरकोटी र उनकी श्रीमती कृष्णीमायाको ज्यान गएको थियो ।

कार दुर्घटना गराएर झाँक्री फरार भएका थिए । पछि प्रहरीमा उनले आत्मसर्मपण गरेका थिए । दुर्घटनापछि बुधबार दिउँसो जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा लाइसेन्स नभेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । झाँक्री अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन् । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

पहिला मृतक परिवारले प्रतिव्यक्ति ५० लाखका दरले एक करोड माग गरेको थियो । निरन्तरको वार्ता र स्थानीय जनप्रतिनिधिहरूको मध्यस्थतापछि आइतबार ५२ लाखमा सहमति भएको प्रहरी स्रोतले जनायो ।



प्रतिक्रिया दिनुहोस्