काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सकिएसँगै दलहरु आ-आफ्ना उम्मेदवारलाई जिताउन चुनावी प्रचारमा व्यस्त छन् । मंसिर १६ गते स्थानीय तहका ४४ स्थानमा उपनिर्वाचन हुँदैछ । ४४ पदका लागि आइतबार भएको मनोनयन दर्तामा ४०७ जनाले उम्मेदवारी दिएका छन् ।
यसैबीच नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पनि चुनाव लागेको छ । ताप्लेजुङबाट प्रतिनिधि सभा सांसदसमेत रहेका पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराई अहिले गृह जिल्लामा छन् । योगेशको गृह जिल्ला ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षमा चुनाव हुँदैछ । ०७९ सालको निर्वाचनमा विजयी भएका दीलप्रसाद वोखिम वैदेशीक रोजगारीका लागि गएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
सिरिजंगा गाउँपालिका वडा नम्बर ३ एमालेले कुमारी सावादेनलाई उठाएकोछ। उनी गत निर्वाचनमा पनि उम्मेदवार थिईन् । तर,४ मतले पराजित भईन् । झिनो मतान्तरले पराजित भएकी सावादेनलाई एमालेले फेरि मौका दिँदा कांग्रेसले भीमकुमार लक्सम्वालाई उम्मेदवार बनाएको छ । यता माओवादीले अम्वी साउदेन र रास्वपाले देवीप्रसाद पौडेललाई उम्मेदवार बनाएपनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने आँकलन गरिएको छ ।
उपनिर्वाचन हुन लागेको सिरिजंगा योगेशको गृह जिल्लाका साथै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको गृह पालिका पनि हो । त्यसैले पनि एमालेले यसपटक सो वडालाई प्रतिष्ठाको विषय बनाएको छ । मिश्रित समूदायको वसोवास रहेको सो क्षेत्रमा आन्तरिक कारण झिनो मतले गत चुनाव हारेको एमाले यसपटक जित निकाल्ने दाउमा छ ।
त्यसोत, कोशी प्रदेश नामाकरणको विरोधमा रहेका पहिचानवादीहरुको पनि प्रभाव सो क्षेत्रमा रहेको देखिन्छ । प्रदेश नम्बर एकको नाम कोशी राखिएदेखि नै उनीहरु असन्तुष्ट छन् । अझ एमालेका नेताहरु पहिचानवादीको टार्गेटमा पर्ने गरेका छन् । स्वयं योगेश भट्टराई पनि बेलाबखत पहिचानवादीको निसानामा पर्दै आएका छन् । कोशी प्रदेश प्रवेशमा निषेध नै लगाएका पहिचानवादीले अहिलेपनि योगेशसहित एमालेका नेताहरुमाथि निसाना साँध्दै आइरहेका छन् । पहिचानवादीको आन्दोलनको भुंग्रोमा परेका योगेशले गृह जिल्लाको एकमात्र वडामा पार्टीको उम्मेदवार जिताएर देखाउन आक्रामक चुनावी प्रचार गरिरहेका छन् ।