Logo

रास्वपामा प्रष्ट दुईधार: रवि छुटाउन सडक तताउने योजना तुहिँदै, डिपीलाई बैठकमा कोरम पुर्‍याउनै सकस, पूर्वकांग्रेसी विरासतका नेताहरूको आफ्नै दाउ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। सभापति रवि लामिछाने सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा आन्दोलन गरिरहेको रास्वपाले दोस्रो चरणको आन्दोलनको स्वरुप लगायतको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।

यसअघि मंगलबार साँझ बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागेको हो । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपनिर्वाचन तयारीलगायत पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने विषयमा छलफल हुने जनाइएको छ ।

पार्टी सभापति लामिछाने पक्राउविरुद्ध आन्दोलनरत रास्वपा यतिबेला शिथिल अवस्थामा पुगेको छ। २ कात्तिकमा पक्राउ परेका रवि कास्की प्रहरीको हिरासतमा छन्। उनलाई बुटवल लगेर पनि बयान लिइएको थियो। काठमाडौं पनि ल्याउने तयारी छ।

तर, जसरी रवि पक्राउविरुद्ध रास्वपा आक्रामक भएको थियो, त्यसरी नै शिथिल बनेको चर्चा चल्न थालेको छ। जसरी चीन भ्रमणमा रहेको रास्वपा टोली रवि पक्राउ पर्न वितिक्कै काठमाडौं फर्किएको थियो। स्थल र हवाइमार्ग भएर रास्वपाका सबै केन्द्रिय नेताहरु पोखरा पुगेका थिए। तर, विस्तारै पोखरामा पोखरेलीले साथ नदिएपछि काठमाडौं फर्किएर प्रदर्शन भयो। त्यतिबेलासम्म रास्वपाको आन्दोलन ठिकठाकै देखिन्थ्यो ।

तर, अब रास्वपामा आन्दोलनको विपक्षमा माहोल बन्दै गएको छ। रास्वपामा यतिबेला प्रष्टरुपमा दुई धार देखिन थालेको छ । उपसभापति डिपी अर्यालले नेतृत्व गरिरहेको एक धारको नजिक रहेका नेताहरु कार्यवाहक प्रवक्ता मनिष झा, सांसदद्धय सोविता गौतम र तोसिमा कार्कीहरु आक्रामक भएर आन्दोलनमा लाग्नुपर्ने पक्षमा रहेपनि अन्य नेताहरु मध्यमार्गी बाटो खोज्ने धाउन्नमा लागेका छन्। रवि फौजदारी अभियोगमा पक्राउ परेका हुन्। तर, फौजदारी कसुरमा पक्राउविरुद्ध पनि आन्दोलन गर्दा विपक्षमा माहोल बन्दै गएको रास्वपा नेताहरुको निस्कर्ष छ। जसकारण उपसभापति अर्याललाई केन्द्रीय समिति बैठकमा कोरम पुर्याउन पनि सकस हुन थालेको छ।

अर्यालले मंगलबार बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएका थिए। तर, धेरै नेताहरूले आन्दोलनको औचित्यमाथि प्रश्न उठाएपछि फेरि बस्ने भनेर बैठक स्थगित भएको थियो।

रास्वपामा पूर्व कांग्रेसी विरासतका नेताहरु डा स्वर्णिम वाग्ले, शिशिर खनाल, सुमना श्रेष्ठ, चन्दा कार्की र विराजभक्त श्रेष्ठमात्र होइन् पूर्वएमालेका हरि ढकाल र सन्तोष परियार पनि आन्दोलनको विपक्षमा रहेका छन् । पूर्व कांग्रेसी नेताहरुको नेतृत्व वाग्लेले गर्दा अर्को पक्षको नेतृत्व अर्यालले गरिरहेका छन् ।

रास्वपामा रवि पक्राउविरुद्ध ब्याक फायर भएपछि स्थानीय तहको उपनिर्वाचनमा समेत सबै ठाउँमा उम्मेदवार उठाउन सकेन। राजधानीकै कीर्तिपुर नगरपालिका मेयरमा समेत रास्वपाले उम्मेदवार उठाएको छैन। काठमाडौंमा प्रतिनिधि सभा निर्वाचनमा ४० प्रतिशत क्षेत्र जितेको रास्वपा संसदीय निर्वाचनको दुई वर्षमै मेयरको उम्मेदवार नपाउने अवस्थामा आइपुगेपछि रास्वपाको भविष्यमाथि प्रश्न उठ्न थालेको छ ।

त्यसो त, देशको मुहार परिवर्तन गर्ने भन्दै वैकल्पिक शक्तिको रुपमा राजनीतिमा उदाएको रास्वपाका नेताहरुको विवेकमाथि नै प्रश्न उठ्न थालेको छ । आफ्नो स्वविवेकलाई तिलाञ्जली दिँदै सभापतिका लागि सती जान तयार भएका रास्वपाका नेता, कार्यकर्ताले देखाएको हर्कतले उनीहरु पनि पुरानाभन्दा फरक छन् भन्न सकिने अवस्था देखिँदैन । न्यायिक निरुपणमा सघाउने हुँकार गरेका सभापति लामिछाने प्रहरीको फन्दामा पर्नासाथ यति हड्बढाए, यति डराए कि आफ्ना नेता कार्यकर्तालाई सरकार नढलेसम्म सडकमै संघर्ष गर्न निर्देशन दिएका थिए ।

सभापतिको निर्देशन केही दिन मानेपनि स्वयं पार्टीका जिम्मेवार नेताहरु आन्दोलनलाई छाडेर राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्न थालेका छन् । उपसभापति अर्याल लगायतका नेताहरु सत्तारुढ दलहरुसँग वार्ताका लागि लबिङमा लागेका छन् । अर्याल र प्रमुख सचेतक रहेका सन्तोष परियारले गत साता नै प्रधानमन्त्ती केपी शर्मा ओली र गृहमन्त्ती रमेश लेखकलाई भेटेर रवि छुटाईदिन गुहार मागेका थिए । तर, सरकारले रवि छुटाउने भन्दापनि रास्वपाको आन्दोलनमा प्रश्न उठाएपछि त्यो प्रयास पनि सफल हुन सकेन । बरु राजनीतिक दलका नेतासँग वार्ता गर्ने जिम्मा स्वर्णिम वाग्लेलाई दिँदादिँदै डीपी बालुवाटार धाउन थालेको भन्दै पार्टीमा ध्रूव्रिकरण सुरु भएको नेताहरु बताउँछन् । एउटा पक्षको नेतृत्व गरिरहेका स्वर्णिम लगायतका नेताहरु रविको विकल्प खोज्नुपर्ने अवस्थामा पुगिसकेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्