काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमतिविना चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) अगाडि नबढाउने भएका छन् । नेकपा (एमाले) बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले दुई दलबीचको सहमतिविना चीन भ्रमणका क्रममा कुनै पनि सहमति नहुने बताएका हुन् ।
चीनसँग कुनै पनि हालतमा ऋणमा कुनै परियोजना अगाडि बढाउन सकिँदैन भन्ने सभापति देउवाको अडानसँग एमाले असहमत रहेको पनि उनले बताए । अहिले बीआरआईका सन्दर्भमा सहमति नभएपनि कुनै न कुनै दिन यो परियोजना लागू हुने उनले विश्वास व्यक्त गरे । ‘कांग्रेसको त्यो बटमलाईनसित नेकपा (एमाले) को पूर्ण सहमति छैन । यो विषयमा हाम्रो सहमति भएन भने पनि हाम्रो सहकार्य अगाडि नबढ्ने होईन,’– उनले भने ।
एमाले र कांग्रेसबीचमा भएको सहकार्य अरु कुनै कारणले विवादमा आउने भयो भने ती विषय थाति रहने नेता भट्टराईले बताए । बीआरआईको विषयले प्रधानमन्त्री ओलीको कुर्सी तलमाथि नहुने उनले बताए । ‘जुन कुरा जे उद्देश्य प्राप्तिका लागि हामीले ०८४ सम्म अगाडि जाने सहमति गरेका छौं, त्यो कुरालाई प्राथमिकतामा राखेर सहकार्य अगाडि बढ्छ,’– उनले भने ।