काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको एजेण्डा फाइनल गर्ने जिम्मा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पाएकी छन् । प्रधानमन्त्री ओलीसहितको टोली आगामी मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा अहिलेसम्म सार्वजनिक भने गरिएको छैन ।
नेकपा (एमाले) बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा फाइनल गर्ने जिम्मा परराष्ट्रमन्त्री डा. राणालाई दिइएको बताए । ‘प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । एजेण्डाको विषयमा समन्वय गर्ने र समग्र एजेण्डाहरु फाइनल गर्ने जिम्मा परराष्ट्र मन्त्रालयले पाएको छ । परराष्ट्रमन्त्री स्वयंले त्यसको समन्वय गरिराख्नुभएको छ । त्यो अन्तिम चरणमा पुगेको भन्ने मैले सुनेको छु,’– नेता भट्टराईले भने ।
साथै, चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कांग्रेसको सहमतिविना अगाडि नबढ्ने पनि उनले बताए । कांग्रेस–माओवादीको सरकार रहेको बेलामा बीआरआई सम्झौता भएको स्मरण गराउँदै उनले वर्तमान सरकारलाई अप्ठ्यारो पर्ने खालका कुनै पनि सहमति नहुने बताए । सहमति भइसकेकाले कुनै न कुनै बेला बीआरआई परियोजना कार्यान्वयनमा आउने उनको भनाइ छ ।
‘बीआरआईको विषयमा कांग्रेस र माओवादीको सरकार भएको बेलामा सम्झौता गरेको हो । सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्छ । नत्र त्यसको विश्वसनीयता अरु मुलुकले पनि हेरिरहेका हुन्छ । अन्तर्राष्ट्रिय विषयलाई विश्वसनीयताको आधारमा निर्णय प्रक्रिया गर्नुपर्छ । हामीले सम्झौता गर्यौं । सम्झौता गरेपछि कार्यान्वयन गर्नुपर्छ,’– उनले भने ।
सरकारले चीनबाट अनुदानमात्रै नभएर लामो समयमा तिरे हुने र थोरै ब्याजदर तिर्दा हुने खालको सफ्ट लोन लिनुसक्ने उनको सुझाव छ ।