काठमाडौं, ४ मंसिर । सल्यानको कुमाख गाउँपालिका स्थानीय युवा परिषद्का उपाध्यक्ष युवराज खड्काले पालिकाभित्रको बेथितिको विरुद्धमा बोल्दा आफूहरुमाथि विभिन्न आरोप र झुठा मुद्दा लगाउने काम भएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले बेथिति र अन्यायको विरुद्धमा बोल्दा आफूहरुलाई झुठा मुद्दा लगाउने र कानुनी रुपमा फसाउने लगायतका षड्यन्त्र भएको बताए ।
बेथितिको विरुद्ध बोल्दा कार्यपालिकाले आफूमाथि किर्ते गरेको, पदीय दुरुपयोग गरेको, भ्रष्टाचार आकर्षित हुने काम गरेको लगायतको आरोप लगाएको उनले सुनाए ।
‘हामीहरुले बेथितिका कुराहरु खोतल्दै जाँदा झुठा मुद्दा लगाउने, कानुनी रुपमा विभिन्न षड्यन्त्र गर्ने, शक्तिको दुरुपयोग गर्ने, उपाध्यक्षलाई कार्यकक्षमा काम गर्न नदिनेजस्ता घटनाक्रम भएका छन्,’– उनले भने ।
त्यस्तै, कुमाख गाउँपालिका स्थानीय विशाल रोका, खिम डिसी, ध्रुब खड्कालगायतले कुमाख गाउँपालिभित्र भइरहेको बेथितिको बारेमा बोलेका थिए ।