काठमाडौं, ५ मंसिर । नेपाल कानुन व्यवसायी परिषद्, लयर्स एकेडेमी समितिको आयोजना र ललितपुर बार एशोसिएशनको सह–आयोजनामा सञ्चालित ‘संवैधानिक कानुन’ सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । गत कार्तिक २६ गतेदेखि ललितपुर बारमा सञ्चालित उक्त तालिम आज सम्पन्न भएको हो ।
तालिममा पेशामा १० वर्षभन्दा कम अवधि अनुभव भएका ४० जना कानुन व्यवसायीहरु सहभागी थिए । सहभागीहरुलाई विज्ञ प्रशिक्षकहरुले संविधान, संविधानवाद, नेपालको संविधानमा व्यवस्था रहेको नागरिकको आर्थिक, सामाजिक र संस्कृतिक अधिकारको कार्यान्वयन, संघीयता, न्यायपालिकाको पुनर्संरचना, विकास र वातावरणमा नागरिकको अधिकार, समानुपातिक, समावेशी प्रतिनिधित्व र अभ्यास, संवैधानिक नैतिकता, संघीयता, शक्तिको बाँडफाँड, संसद् विघटनलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
संवैधानिक कानुनसम्बन्धी आधारभूत तालिमको समापन समारोहमा नेपाल बार एशोसिएशनका अध्यक्ष, कानुन व्यवसायी परिषद्का उपाध्यक्ष एवं लयर्स एकेडेमी समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, परिषद्का सदस्य एवं लयर्स एकेडेमीका उपाध्यक्ष वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, नेपाल बार एशोसिएनकी महासचिव अन्जिता खनाल, नेपाल बार एशोसिएशनका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, जिल्ला बार एशोसियशन ललितपुरका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष बाबुकृष्ण महर्जन, सचिव छोनम मोक्तान, सह–सचिव रिता शेर्पालगायतको सहभागिता रहेको थियो ।
कानुन व्यवसायीको पेशागत हक, हित र पेशागत क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । लयर्स एकेडेमी समितिले आगामी दिनमा पेशामा १० वर्षभन्दा कम अवधि अनुभव भएका कानुन व्यवसायीलाई आधारभूत तालिम र पेशामा १० वर्षभन्दा बढी अनुभव भएका कानुन व्यवसायीलाई विशिष्टिकृत तालिम दिने लक्ष्य लिएको छ ।