काठमाडौं, ५ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘घुसखोरलाई चोरजस्तै र भ्रष्टाचारीलाई बलात्कारीजस्तै’ जनताले जनकारबाही गर्नुपर्ने बताएका छन् । चोरजस्तै घुसखोरलाई र बलात्कारीजस्तै भ्रष्टाचारीलाई जनताले भाटा नहाने मुलुक नसुध्रिने उनको भनाइ छ ।
आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज पर्साको निचुटामा आयोजित आमसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले मुलुकमा भ्रष्टाचार र घुसखोरी बढ्दै गईरहेको र त्यसलाई सरकारले संस्थागत गरिरहेको बताए ।
‘घुसखोर र भ्रष्टाचारीहरु अहिले खुलेयाम घुमिरहेका छन् । देश लुटिरहेका छन् । चोर जस्तै घुसखोरलाई र बलात्कारी जस्तै भ्रष्टाचारीलाई जनताले भाटा हान्नुपर्छ । त्यस्तालाई जनकारवाही गर्नुपर्छ’, आजपा अध्यक्ष साहले भने, ‘गाउँघरमा चोर भेट्दा प्रहरीलाई खबर गर्नुभन्दा अघि जनताले त्यसको रामधुलाई गर्छन् । यहाँ घुसखोर, भ्रष्टाचार गर्नेलाई पनि त्यस्तै जनकारवाही गर्नुपर्छ । पहिला रामधुलाई गर्ने अनि प्रहरीलाई खबर गरेर बुझाउनुपर्छ ।’
मुलुकमा भ्रष्टाचार, घुसखोरी, अनियमितता, बढदै गईरहेको बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई संस्थागत गरेको गम्भीर आरोप लगाए । मुलुकका विभिन्न ठूलठूला भ्रष्टाचारका काण्ड बाहिर आए पनि सरकारले भ्रष्ट, लुटेरालाई अझै कारबाही नगरेमा उनले असन्तुष्टि व्यक्त गरे ।
गिरिबन्धु, ललिता निवास प्रकरण, भुटानी शरणार्थी, टेरामक्स, वाईडवडीदेखि लिएर विभिन्न घोटाला र भ्रष्टाचारका काण्डमा वर्तमान सरकारले दोषीलाई नै संरक्षण गरेको उनको आरोप छ ।
‘विभिन्न काण्डहरु आएको छ । यहाँ राज्यको ढुकुटी लुट्नेदेखी सार्वजनिक सम्पती लुट्ने काम भईरहेको छ । भ्रष्ट, लुटेराहरु सार्वजनिक रुपमा खुलेयाम घुमिरहेका छन् । उनीहरु सम्मानित भईरहेका छन्, श्रमजीविहरु ऋपमानित भईरहेका छन् । के सरकारले उनीहरुलाई कारवाही गर्नुपर्दैन् रु’, प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘मुलुक समृद्ध बनाउँछौं भन्नुहुन्छ प्रधानमन्त्रीजी, तर भ्रष्टाचारी, लुटेरालाई संरक्षण पनि गर्नुहुन्छ । करमाथि कर लगाएर नेपाली जनतामाथि ऋणको भारी बोकाउने सरकारले समृद्ध नेपाल कसरी निर्माण गर्छ ? भ्रष्ट, लुटेरालाई संरक्षण गरेर समृद्ध नेपाल कहिलै बन्दैन् ।’
‘भ्रष्टाचारविरुद्धको मधेस यात्रा’ कार्यक्रम पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षद्धय समिना हुसेन, अशोक लामा, महासचिव त्रिभुवन साह लगायतको सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले बताए ।