Logo

चीन भ्रमणको विषयलाई लिएर ओली–देउवाबीच कुनै असमझदारी छैनः गृहमन्त्री लेखक



काठमाडौं, ६ मंसिर । गृहमन्त्री रमेश लेखकले मन्त्री हेरफेर हुने कुरामा सत्तारुढ दलबीच कुनै छलफल नै नभएको बताएका छन् । आज (बिहीबार) प्रेस युनियनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले मन्त्री फेरबदलका सम्बन्धमा आइरहेका कुराहरु हल्लामात्रै भएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीले आफ्नो आवश्यकक्ताअनुसार मन्त्री फेरबदल गर्न सक्ने बताउँदै कांग्रेस–एमालेबीच छलफल नभइ भने मन्त्री परिवर्तन नहुने प्रष्ट पारे ।

‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा छलफल गरेर मात्र हुन्छ । तर, अहिलेसम्म त्यस्तो छलफल भएको छैन,’– गृहमन्त्री लेखकले भने ।

साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयलाई लिएर गठबन्धनमा कुनै समस्या नरहेको पनि बताए । सामान्य छलफलको विषयलाई भ्रम फैलाइएको दाबी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच कुनै खटपट नरहेको बताए । ‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा असमझदारी छैन,’– उनले भने ।

गृहमन्त्री लेखकले वर्तमान सत्ता गठबन्धन आगामी २०८४ को चुनावसम्म कामय रहने र अबको १८ महिना पछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने बताए । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भइरहेको बताउँदै त्यसको लगत्तै भारतको भ्रमण गर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्