काठमाडौं, ६ मंसिर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) का प्रवक्ता होबिन्द्र बोगटीले दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको विरद्धमा बनाएको भिडिओ प्रथम दृष्टिमै फेक देखिएको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । प्रवक्ता बोगटीले अहिले प्रसाईँबाट नियन्त्रणमा लिइएको डिजिटल डिभाइस ल्पाप्टप, मोबाइलहरु परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाउने काम भइरहेको बताए ।
‘अहिले अनुसन्धान प्रारम्भिक चरणमा छ । हामीले उहाँको डिजिटल डिभाइस ल्पाप्टप, मोबाइलहरु कलेक्सन गरेका छौं । त्यो हाम्रो फरेन्सिक ल्याबबाट परीक्षण हुन्छ । उहाँले जुन कुराहरु सोसल मिडियाहरुमा अपलोड गर्नुभएको छ । त्यो कुराहरुको पनि हामी साइन्टिफिक परीक्षण गर्छौं । ती सबै कुराहरु प्रथम दृष्टिमै फेक देखिन्छ, असम्भव कुराहरु देखिन्छ,’– उनले भने ।
गत मंगलबार पक्राउ परेको प्रसाईँलाई हिजो काठमाडौं जिल्ला अदालतबाट ५ दिनको लागि म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ अन्तर्गत सोसल मिडियाहरुमा अफवाह फैलाउन नहुने भन्ने कसुरमा अनुसन्धान भइरहेको उनले बताए । प्रसाईँविरुद्ध यसअघि पनि साइबर क्राइमको मुद्दा विचाराधीन अवस्थामा छ ।
‘कुनै पनि व्यक्तिले सामाजिक सञ्जालमा अफवाह फैलाउने, कसैको पनि मान मर्दन हुने अथवा नैतिकतामा आँच आउने खालको कुनै पनि क्रियाकलाप गर्न हुँदैन । पहिला पनि उहाँमाथि साइबर क्राइमअन्तर्गत मुद्दा चलिरहेको थियो, अहिले पनि पुनः सम्मानीय प्रधानमन्त्रीज्यू उपर फेक कुराहरु गरेर सोसल मिडियामा अपलोड गर्नुभयो । त्यसैलाई टेकेर हामीले उहाँमाथि साइबर अपराधको मुद्दा दर्ता गरेका हौं,’– उनले भने ।