Logo

राप्रपालाई ‘तोरीवादी’ को संज्ञा दिँदै ‘नेपाल एकता पार्टी घोषणा’, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त



काठमाडौं, ६ मंसिर । डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहबीच पार्टी घोषणा गरिएको हो । नेपाल एकता पार्टीको उपाध्यक्षहरुमा हिरा आचार्य, टीका नेपाल, धर्म सुवेदी, महासचिव भुपेन्द्र भण्डारी, प्रवक्ता नविन महतो रहेका छन् ।

नेपाल एकता पार्टीले पृथ्वीपथ र महेन्द्रपथलाई अगाडि बढाउने अध्यक्ष शाहले बताए । आफूहरुले एक दिन यो मुलुकमा शासन गरेरै छाड्ने बताए । पृथ्वीनारायण शाहले झैं अब एकताबाट नै वीरताको सिर्जना गर्नुपर्ने बताए ।

‘पृथ्वीपथ र महेन्द्रपथको सन्दर्भमा हामीले सौर्य, साम्यवादको यात्रालाई जोडेका छौं । जल, जंगल, जमिन र जडिबुटीका माध्यमबाट यो मुलुकमा विकास सम्भव छ । त्यो राजा महेन्द्रले गरेका थिए भनेर हामीले महेन्द्र पथको हिस्सा लिएका हौं । मुलुकको संरचना, कर्मचारीतन्त्रको व्यवस्थापन, सैनिकतन्त्रको तैनाथी र प्रहरी संगठनको जिम्मेवारीका बारेमा जंगबहादुर राणाले जुन दृष्टिकोण दिनुभएको थियो, त्यो विधिबाट हामी सम्भव गराउँछौं । एकताको वीरताबाट यो मुलुकलाई अधिराज्यको रुपमा स्थापित गर्छौं,’– उनले भने ।

साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तोरीवादीको संज्ञा दिए । राप्रपा ‘म मात्रै राजावादी हुँ’ भन्ने मनोरोगले ग्रस्त रहेको पनि बताए । उनले यस्ता मान्छेहरुलाई उपचारको आवश्यक्ता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्