Logo

१०औं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु सम्पूर्ण खेलाडीहरूप्रति गम्भीर अन्याय हो: विराजभक्त श्रेष्ठ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा सम्पन्न नहुनु नेपाली खेलकुदको इतिहासमा गम्भीर दुर्भाग्य भएको बताएका छन् ।

कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुद आगामी फागुनमा हुनुपर्ने थियो । तर, आवश्यक तयारी नपुगेको भन्दै तोकिएको समयमा खेलकुद प्रतियोगीत नहुने निश्चित भएपछि पूर्वयुवा तथा खेलकुदमन्त्री समेत रहेका सांसद श्रेष्ठले आपत्ति जनाएका हुन् ।

‘दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा सम्पन्न नहुनु नेपाली खेलकुदको इतिहासमा गम्भीर दुर्भाग्य हो। यसका लागि सरकारले करोडौं बजेट विनियोजन गरेको थियो भने कर्णाली प्रदेशले आफ्नो क्षेत्रमा ठूलो लगानी गरी भौतिक संरचना निर्माण गरेको थियो। यस्ता ठोस तयारीहरूका बाबजुद युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले विभिन्न बहानामा यो महत्वपूर्ण कार्यक्रम समयमा सम्पन्न नगर्नु सम्पूर्ण खेलाडीहरूप्रति गम्भीर अन्याय हो’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

मन्त्रालय र परिषदको लाचारीको प्रत्यक्ष असर खेलाडीहरूको मनोबलमा परेको नेता श्रेष्ठको भनाइ छ । उनले अप्रत्यक्ष रूपमा कर्णाली प्रदेशले पनि यसबाट ठूलो नोक्सान व्यहोर्नु परेको उल्लेख गरेका छन् ‘यस्तो अवस्थालाई नीतिगत भ्रष्टाचारको एउटा रूप मान्ने कि नमानेर थाती राख्ने ? राष्ट्रिय खेलकुदजस्तो महत्त्वपूर्ण कार्यक्रम, जसले राष्ट्रिय एकतालाई मजबुत बनाउन सहयोग पुर्‍याउँछ, यसरी किन खेर फालिँदैछ ? यो प्रश्नको उत्तर यो सरकारले दिनु पर्दछ। यस्तो महत्वपूर्ण राष्ट्रिय कार्यक्रम समयमा सम्पन्न गर्न नचाहनु खेलाडीहरूको सपना र कर्णाली प्रदेशको भविष्यप्रति गम्भीर अन्याय हो’ उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्